१५ चैत्र २०८०, बिहीबार

नयाँ वर्षमा परीक्षण उडान

pokhara international airport

राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ९३ प्रतिशत पूरा भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाका प्रमुख विनेश मुनकर्मीले भन्नुभयोे, ‘‘वैशाखमा उडान परीक्षण गर्ने लक्ष्य छ । असारमा हस्तान्तरण गर्नेगरी काम अगाडि बढेको छ ।’’

अन्तर्राष्ट्रिय उड्डयन संस्था आइकाओको मापदण्डभित्र रहेर फोरडी मोडलमा निर्माण भइरहेको यो क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चरणमा आन्तरिक उडानबाटै सुरु गर्ने र त्यसपछि अन्तर्राष्ट्रिय उडानका लागि समन्वय र सहकार्य गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । पोखराका लागि हाल सिमरा, वीरगञ्ज र चीनबाट गरी हाल तीनवटा मात्र हवाई रुट पर्न आउने उहाँले बताउनुभयो ।

विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगे पनि केही पूर्वाधार, सुरक्षा र मापदण्ड भने अझै पूरा हुन सकेको छैन । विमानस्थलको दक्षिणतर्फ रहेको रिठेपानी डाँडा कटान, ल्यान्डफिल साइटको व्यवस्थापन र बर्खाको भेलबाढी तर्काउने संरचना निर्माण भने अझै हुन सकेको छैन । विगतमा पटकपटक म्याद थप गरिएको यो आयोजनाको काम सक्नुपर्ने समय आगामी असार २५ गते तोकिएको छ ।

वैकल्पिक ल्यान्डफिल साइट खोज्दै महानगर

विमानस्थलबाट ‘ल्यान्डफिल साइट’ करिब दुई किलोमिटर दूरीमा पर्छ । विमानस्थल नजिक फोहोर व्यवस्थापन गर्दा त्यसले चरा आकर्षित गर्ने र चराका कारण उडान र अवतरणमा जोखिम बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी वैशाखदेखि त्यहाँ फोहोर नफाल्न पोखरा महानगरपालिकासँग अनुरोध गरेका छौँ।”पो

खरा महानगरपालिका नयाँ ल्यान्डफिल साइटका लागि जग्गा खोजिरहेको छ । महानगरकै वडा नं. २० र १६ मा पर्ने २३१ रोपनी जग्गा फेलापरेको भए पनि स्थानीयवासीको विरोधले काम अगाडि बढ्न सकेको छैन ।

बाढी र कटान नियन्त्रण

बाढी नियन्त्रणका लागि हालसम्म करिब ३५ करोड रुपियाँ खर्च भइसकेको छ तर विजयपुर खोलाको कटान रोकिएको छैन । विमानस्थलले वडा नं. १४ को तल्लो क्षेत्रमा जाने सिँचाइको पानी रोकिदिएपछि सो क्षेत्र सुक्खा बनेको छ । सिँचाइ अवरोध भएकामा स्थानीय किसान अदालतसम्म पनि पुगेका थिए । अदालतले नै सिँचाइको व्यवस्था गर्न आदेश दिए कार्यान्वयन भएको छैन । बाढी नियन्त्रणका लागि सिँचाइ डिभिजनलाई लिखित आग्रह गरिए पनि काम अगाडि नबढेको मुनकर्मीले बताउनुभयो ।

काममा ढिलाइ

आयोजनाको सबैभन्दा ठूलो करिब ६५० सिट क्षमताको टर्मिनल भवन, टावर, कार्यालय भवन, कार्गो भवनसहित १४ वटा भवनको निर्माण कार्य सम्पन्न भएको छ । हालसम्म पोखरामा १५० देखि २०० सिट क्षमताका न्यारोबडी जहाज आउने गरी विमानस्थल निर्माण गरिएको हो । चीन सरकारको २२ अर्ब रुपियाँ सहुलियत ऋणमा निर्माण भइरहेको विमानस्थल कोरोना महामारीका कारण तोकिएको समयमा सम्पन्न हुन सकेको छैन ।

चिनियाँ कम्पनी सीएएमसीईले २०१७ नोभेम्बर १ मा निर्माण थालेको यो विमानस्थल यसअघि २०२१ जुलाई १० (२०७८ असार)भित्र सक्ने लक्ष्य राखिएको थियो तर समयमै काम सम्पन्न नभएपछि २०७९ असार २५ सम्मलाई म्याद थप गरिएको छ।

मुनकर्मीका अनुसार हाल १८८ चिनियाँ र २३० नेपाली कामदारले काम गरिरहेका छन् ।पोखरा विमानस्थलका लागि तीन हजार ८९९ रोपनी जग्गा तयार गरिएको छ । २०३२ सालमै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । थप जग्गा आयोजनाले चरणबद्ध रूपमा अधिग्रहण गरेको हो।

मुख्यमन्त्रीको चासो

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालनका लागि विशेष चासो देखाउनुभएको छ ।

ल्यान्डफिल साइट निर्माण र पूर्वतिरको रिठेडाँडाको कटानमा ढिलाइ भइरहेका कारण विमानस्थल सञ्चालनपछि धकेलिने पो हो कि भन्ने गुनासो आएपछि उहाँले केही दिनअघि सरोकारवाला बोलाएर छलफल गर्नुभएको हो ।

मुख्यमन्त्री पोखरेलले रिठेपानी डाँडाको कटान र पोखराको सुन्दरतामा समेत विशेष ध्यान पु-याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सबै काम पोखरा महानगरले मात्र गर्नुपर्छ भन्ने होइन, हामी सङ्घ सरकारसँग पनि समन्वय गर्छौं तर यसको जिम्मेवारी त महानगरकै होध्र” बरु यसमा प्रदेश सरकारले के सहयोग गर्नुपर्छ त्यसका लागि आफू प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

काँहुडाँडादेखिको पानीको भल विमानस्थलमा पुग्छ । त्यसलाई विजयपुर खोलामा झार्न सङ्घीय सरकारले काम थालिसकेको उहाँले बताउनुभयो।