७ बैशाख २०८१, शुक्रबार

वर्षाको ठाउँमा भित्रिइन् उपासना

Barsha upasna

चैत्रको तेश्रो साताबाट छायांकनमा जान लागेको फिल्म ‘२ नम्बरी’मा नायिका उपासना सिंह ठकुरीको प्रवेश भएको छ । उपासनासँग फिल्मको निर्माणपक्षले सोमबार कागजी संझौता गरेको हो ।

नायिका उपासना सिंह ठकुरीले फिल्ममा भित्रन पाउँदा आफूलाई खुशी लागेको बताइन् । भनिन्–‘म एकदमै खुशी छु । सौगात मल्ल दाईसँग काम गर्ने ठुलो सपना थियो । त्यो पुरा हुँदैछ । फिल्मको टिम, कथावस्तु मन परेपछि मैले काम गर्ने निर्णय गरेकी हुँ ।’

यो फिल्ममा नायिका वर्षा राउतले काम गर्ने पक्का भएको थियो । तर, वर्षा राउत बाहिरिसँगै निर्माणपक्षले उपासनालाई भित्राएको हो । फिल्ममा अब दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र भुटानी नायिका उगेन छोदेनको मुख्य भूमिका रहनेछ ।

आउँदो वर्षको कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

फिल्मको कथावस्तु अझै परिमार्जन गरेर बलियो बनाएको निर्देशक लामाले बताए । फिल्मकी नायिका उगेन छोदेनले भनिन्–‘विदेशी कलाकारहरुसँग काम गर्न पाउँदा खुशी लागेको छ । नेपाली दर्शकले माया दिनुभयो भने म अझै निरन्तर नेपाली फिल्ममा काम गर्नेछु ।’

यो फिल्मले २ साथीको कथा भन्नेछ । फिल्ममा दीपक मनाङ्गे र अमला देवी राइको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।