८ बैशाख २०८१, शनिबार

चोइटिएर जानेको चुनावमा हालत हुन्छ : अध्यक्ष ओली

kp oli 3

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट चोइटिएर जानेको हालत हुने बताउनुभएको छ।

उहाँले एमाले फुटेको नभएर केही व्यक्ति चोइटिएर गएको दाबीसमेत गर्नुभयो। ‘फुटेको भन्न मिल्दैन केही पात मात्र झरेको हो’, कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘चोइटिएर जानेको हालत आगामी चुनावमा देख्नु हुनेछ।’

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पुगेर अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो। अध्यक्ष ओलीले सूर्योदयको जिल्लाबाट पार्टीको अभियान थालिएको बताउदै एमाले कमजोर नभएको उल्लेख गर्नुभयो।

अर्को प्रसंगमा उहाँले सत्ता गठबन्धन दलले निर्वाचन आयोगलाई दुरुपयोग गरेर मतपत्रको रङ परिवर्तन गरेको आरोप लगाउनुभयो। गठबन्धनको दबाबमा परेर आयोगले रातो मतपत्रलाई हरियो बनाएको उहाँको आरोप छ।

कार्यक्रममा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमाले कुनै ठाउँमा कमजोर नरहेको बताउनुभयो। नेकपा (एमाले) सूर्योदय नगर कमीटीले आयोजना गरेको कार्यक्रममा इलामका १० पालिकासहित झापा र पाँचथरबाट समेत कार्यकर्ता सहभागी थिए।