१३ बैशाख २०८१, बिहीबार

उदयपुर छिरेका ८ भारतीयमा कोरोना संक्रमणको आशंका

corona nepal

लकडाउनको समयमा लुकेर उदयपुर छिरेका आठ जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड-१९) को आशंका गरिएको छ ।

यद्यपि, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी छ ।

उदयपुर नगरपालिका-३ स्थित भुल्केमा रहेको मस्जिदमा रहेका ८ जना भारतीय नागरिकमा कोरोना पोजिटिभको आशंका गरिएको हो । कोशी अञ्चल अस्पतालमा आरटीपीसीआर प्रविधिबाट उनीहरुको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेलले जानकारी दिए ।

भुल्केमा रहेको मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए । त्यसआधारमा स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट चार जना नेपाली वैशाखको सुरुमै आएको पाइएको छ ।

उनीहरुको सुरुमा र्‍यापिड टेस्ट गरिएको थियो र सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

र्‍यापिड टेस्टपछि शंका लागेर पीसीआर विधिबाट परीक्षण गर्न थ्रोट स्वाब संकलन गरेर विराटनगर पठाइएको थियो । कोसी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा आठ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएपछि १० जनाकै नमुना शुक्रबार बिहान काठमाडौं पठाइएको छ ।

शंकास्पदहरुलाई भने विराटनगर ल्याउने तयारी भइरहेको छ । उनीहरुलाई अहिले मस्जिदमै राखिएको छ ।

त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले भने, ‘नातागोता भेट्न भनेर ४/५ दिन अगाडि आएको भन्छन् । तर, वास्तविक कुरा भनेको जस्तो देखिँदैन ।’

उनीहरुले भने आफूहरू सप्तरीमा भएको धार्मिक सभामा सहभागी हुन आएको र त्यसपछि विभिन्न जिल्ला घुमेर उदयपुर आएको दाबी गरेका छन् ।

 तीमध्ये ८ जनामा कोरोना संक्रमणको नतिजा पोजेटिभ देखिएको हो । स्थानीयले नयाँ मान्छे देखेपछि प्रशासनको सहयोगमा उनीहरुको कोरोना संक्रमणको परीक्षण गरिएको थियो ।

फाइनल रिर्पोटका लागि उनीहरुको स्वाब जनस्वास्थ्य कार्यालय टेकुमा पठाइएको छ । त्यसको नतिजा भोलिसम्म आउने बताइएको छ ।