१५ चैत्र २०८०, बिहीबार

अहिले पनि गणतन्त्र र परिवर्तनको विरुद्ध लागेको प्रचण्डको आरोप

prachanda IRyjsLNp44
फाइल फोटो

नेकपा (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अहिले पनि गणतन्त्र र परिवर्तनको विरुद्ध लागेको आरोप लगाएका छन् ।

गणतन्त्र र राजनीतिक परिवर्तनको विरुद्धमा भइरहेको गतिविधि रोक्नका लागि माओवादी, नेपाली कांग्रेस र अन्य वामपन्थी दलहरु एकजुट हुनुपर्ने प्रचण्डको भनाइ थियो ।

सिन्धुलीमा पार्टी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमाले अध्यक्ष ओलीलाई परिवर्तन पाच्य नभएको बताए ।

“लोकतान्त्रिक गणतन्त्रका लागि जनयुद्ध र जनआन्दोलन चलिरहेको थियो । जतिबेला हामी त्यो प्रक्रियामा अगाडि बढिरहेका थियौँ । यो देशमा आफूहरु ठुलो पार्टी भन्ठान्ने केही नेताहरु नेपालमा गणतन्त्र सम्भव छैन, गणतन्त्र आउँछ भन्नु र गोरुगाढा चढेर अमेरिका जान्छु भन्नु एउटै हो भन्थे,” उनले भने,“ती अहिले पनि गणतन्त्रको विरोधमा छन् । अहिले पनि गोरुगाडाको सिद्धान्तमा नै छन् ।”

आफूहरुले प्रतिनिधिसभाको पहिलो विघटन असफल पारेपछि नेता/कार्यकर्ता आरामले बस्दा तत्कालीन प्रधानमन्त्री ओलीले दोस्रोपटक पनि विघटन गरेर संविधान नै मास्न खोजेको प्रचण्डको दाबी छ ।

एमाले अध्यक्ष ओलीलाई नयाँ संविधान, संघीयता, दलित, जनजाति, मधेसी, मुस्लिम, महिलालगायतले अधिकार पाएको मन नपरेकाले सत्तामा पुर्याएमा जतिबेला पनि परिवर्तनमाथि खतरा हुन सक्ने र देश बर्बाद हुनसक्ने प्रचण्डले जिकिर गरे ।

ओलीले जात र धर्मको राजनीति गर्न खोजेको आरोप लगाउँदै प्रचण्डले केही अदृष्य शक्तिले ओलीमार्फत् संविधान र गणतन्त्र उल्ट्याउने र देशलाई धार्मिक अतिवादमा लगेर विदेशीको अगाडि सुम्पिन चाहेको प्रचण्डको आरोप छ ।

प्रचण्डले पार्टी कार्यकर्तालाई आराम गर्ने अवस्था नरहेको भन्दै गाउँघर जान निर्देशन दिए । आफू पनि दिनदिनै विभिन्न जिल्ला गइरहेको भन्दै उनले कार्यकर्ताहरुलाई जनताको घरदैलोमा गएर पार्टीको पक्षमा काम गर्न निर्देशन दिए ।