
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा जलाशययुक्त जलविद्युत आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभएको छ। शनिबार दोलखाको बिगु गाउँपालकिा १ गोगरस्थित माथिल्लो तामाकोशीको पावर हाउसमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो। प्रधानमन्त्री देउवाले आयोजनाले देशकै लगानी, जनशक्ति व्यवस्थापनमा विद्युत उत्पादन गर्न सक्छै भन्ने उदाहरण दिएको उल्लेख गर्नुभयो।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको २२०/१३२ केभी नयाँ खिम्ती सबस्टेशनको ‘समुद्घाटन तथा प्रशंसापत्र वितरण समारोह’ लाई सम्बोधन गर्दै जलाशयुक्त आयोजनाको विकासमा सरकार लागिपर्ने बताउनुभएको हो। उहाँले बूढीगण्डकी र पश्चिम सेती जलाशयुक्त आयोजनाको नामै लिएर ती आयोजना अगाडि बढाउने उल्लेख गर्नुभयो।
स्थाानीयलाई शेयर दिएर यही मोडलमा अन्य जलविद्युत आयोजना निर्माण गर्न सकिने उहाँको विश्वास छ। उहाँले पश्चिम सेती र बुढीगण्डकी जस्ता जलाशययुक्त आयोजनाको बारेमा चर्चा गर्नुभयो।
यस्तै ऊर्जामन्त्री पम्फा भुसालले नेपालमा उत्पादन भएको विद्युतलाई अन्तर्राष्ट्रिय बजारमा लैजादा व्यापार घाटा कम हुने बताउनुभएको छ। नेपालको अर्थतन्त्रमा जलविद्युतले महत्वपूर्ण योगदान गर्ने उहाँको भनाइ छ।
कार्यक्रममा प्रम देउवाले आयोजनाका लगानीकर्ता, ठेकेदार, कम्पनी, सहयोगी संस्था, आयोजनाका पूर्व अध्यक्ष, स्थानीय संस्थालाई प्रशंसापत्र प्रदान गर्नुभएको छ। कार्यक्रममा सांसद जिपछिरिङ् लामा, पार्वत गुरुङले सम्बोधन गर्नुभएको छ।
ऊर्जा सुरक्षाका लागि ती आयोजना महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो। सुक्खायाममा जलाशयुक्त आयोजनाको भूमिका महत्वपूर्ण रहने र आर्थिक रुपमा पनि देशलाई फाइदा पुग्ने उल्लेख गर्दै उहाँले स्वच्छ र हरित ऊर्जाका लागि पनि ठूला र जलाशयुक्त आयोजना जरुरी रहेको र त्यसका लागि सरकारले गृहकार्य गरिरहेको बताउनुभयो।

‘जैविक इन्धनबाट विद्युत् निकाल्ने काम बन्द हुने भएकाले जलाशययुक्त आयोजना महत्वपूर्ण छ भन्ने बुझाउन जरुरी छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘पेट्रोल र डिजलबाट हामी मुक्त हुनुपर्छ। बिजुलीबाट नै काम गर्नुपर्छ।’
प्रधानमन्त्री देउवाले अझै पनि झोलामा खोला राखेको र काम नभएको भन्ने आफूले सुनेको भन्दै त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो।
पीपीएको प्रक्रिया अगााडि बढ्छ
लामो समयदेखि अगाडि बढ्न नसकेको विद्युत् खरिद सम्झौता (पीपीए)का सन्दर्भमा पनि प्रधानमन्त्रीले उचित निर्णय लिइने स्पष्ट पार्नुभयो। पीपीएको प्रक्रिया अगाडि बढाउनका लागि सरकार तयार छ। बिजुली लिन सक्ने क्षमताअनुसार नै अगाडि बढाउनुपर्छ’, उहाँले भन्नुभयो।
प्रधानमन्त्री देउवाले नेपालको आफ्नै लगानी र मिहिनेतले बनेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले विद्युत् आपूर्तिमा ठूलो योगदान पु¥याएको भन्दै सम्बन्धित कर्मचारी, निर्माण व्यवसायी सबैलाई धन्यवाद दिनुभयो।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसीले हालसम्म एक अर्ब युनिट बिजुली प्रवाह गरेको छ। कुल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असारमा उद्घाटन गरिएको थियो। प्रधानमन्त्रीले परियोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अन्य परियोजनामा ज्ञान तथा सीपको उपयोग गर्न आग्रह गर्नुभयो।
