८ बैशाख २०८१, शनिबार

नेकपाको निरन्तरता एकीकृत समाजवादीले गरेको छः माधवकुमार नेपाल

madhav nepal
फाइल फोटो

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र माओवादी केन्द्र एकता भई गठन भएको नेकपाको निरन्तरता आफ्नो पार्टीले गरिरहेको बताउनु भएको छ ।

गोरखामा शनिवार आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष नेपालले केपी शर्मा ओली एमालेको अध्यक्ष भएर पार्टीलाई दुरुपयोग गरेको बताउनु भएको हो । एकीकृत समाजवादी पार्टी मूलधारको पार्टी भएको उहाँको दाबी थियो । त्यसैले समाजवादीको महत्व जनताले पनि बुझिरहेको उहाँले बताउनुभयो ।

आफ्नो पार्टी अहिले सुदूरपश्चिम र मधेस प्रदेशमा सबैभन्दा ठूलो रहेको र प्रदेश १ र बाग्मतीमा सरकारको नेतृत्वमा रहेको पनि उहाँले बताउनुभयो । एमाले छोडेर एकीकृत समाजवादीमा आउन नेता र कार्यकर्ताको ठूलो पंक्ति आइरहेको उहाँकोे भनाइ थियो । उहाँले अबको चुनावले एकीकृत समाजवादी जनतामा स्थापित हुने र एमाले कमजोर बन्ने दाबी समेत गर्नुभयो ।

कार्यकर्तालाई उच्च मनोबलका साथ प्रत्येक वडा र पालिकामा संगठन विस्तार गर्नका लागि नेपालले निर्देशन दिनुभयो । पार्टी खोल्नै सक्दैनन् भन्नेहरूलाई जवाफ दिइएको भन्दै उहाँले अब पार्टीलाई देशव्यापी बनाउनका लागि निस्वार्थ भावनाका साथ लाग्न आग्रह गर्नुभयो ।

साथै अध्यक्ष नेपालले एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र ओली मिलेर जस्ताको त्यस्तै पारित गर्न खोजेको तर एकीकृत समाजवादीको पहलमा ब्याख्यात्मक घोषणा भएको बताउनुभयो ।