१४ बैशाख २०८१, शुक्रबार

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल युएईसँग पराजित

nepal cricket

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल युएईसँग ४८ रनले पराजित भएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा १६९ रनको लक्ष्य पछ्याएको नेपालमा ३५.१ ओभरमा १० विकेट गुमाउँदै १२० रनमा समेटिएको हो ।

नेपालका लागि रोहित कुमार पौडेलले ४६ रन बनाए । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले क्रमश: ११ र ७ रन जोडेर आउट भए । यस्तै, ज्ञानेन्द्र मल्लले २८, दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले ६, करण केसीले ६, सन्दीप लामिछानेले ७ रन बनाउँदा सागर ढकाल शून्यमै नट आउट रहे । कमलसिंह ऐरी र आरिफ शेख शून्यमै आउट भए ।

युएईका लागि बासिल हामिदले ४ विकेट लिए । जुनैद सिद्दिकले दुई विकेट लिँदा जहुर खान र रोहन मुस्तफाले समान एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४६.२ ओभरमा १० विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।

युएईका लागि सिपि रिजवान र रोहन मुस्तफाले समान ४०/४० रनको योगदान गरे । ओपनरद्वय मोहम्मद वासिम र चिराग सुरीले क्रमश: २१ र ६ रन बनाउँदा विस्फोटक ब्याट्सम्यान वृत्य अरविन्द ३ रनमै आउट भए ।

यस्तै, आसिफ खानले २, बासिल हामिदले १४, कासिफ दाउदले १८, कप्तान अहमद राजाले १३, जुनैद सिद्दिकले १ रन बनाउँदा जहुर खानले शून्य रनमै आउट भए ।

नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले चार विकेट लिए । उनले युएईको पावर प्लेलाई ध्वस्त पारे । साथै, करण केसीले तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र सागर ढकालले समान एक/एक विकेट लिए ।