१६ चैत्र २०८०, शुक्रबार

उपत्यकामा तीन हजार ५०० भन्दा बढी प्रहरी परिचालन, उछृङ्खल गतिविधि गर्नेलाई मुद्दा चलाइने

Nepal Police APF

होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा तीन हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठोरले होलीमा उपत्यकाको शान्ति सुरक्षामा कुनै कमी आउन नदिन तीनवटै जिल्लाका प्रहरीलाई उच्च सतर्कतामा राखिएको बताउनुभयो ।

काठमाडौं जिल्लामा मात्र एक हजार ७०० को संख्यामा प्रहरी परिचालन गरिनेछ । त्यस्तै ललितपुरमा ६०० भन्दा बढी र भक्तपुरमा ४०० भन्दा बढी प्रहरी परिचालन गरिने प्रवक्ता एसपी राठोरले बताउनुभयो ।

उच्छृङ्खल गतिविधि गर्ने, इच्छाविपरित लोला हान्ने, रङ दल्नेमाथि निगरानी गर्न एक सयभन्दा बढीको संख्यामा परिचालन गरिनेछ । ४५ वटा मोबाइल भ्यान, कन्ट्रोल रूम भेकल, करिब १८० क्विक रेस्पोन्ट टिम लगायतको टिम पनि परिचालन हुने उहाँको भनाइ छ ।

प्रत्येक जिल्लाले आ–आफ्नो सुरक्षा योजनासमेत बनाएको उहाँको भनाइ छ । प्रत्येक प्रहरी वृत्त, प्रभाग, प्रहरी चौकी, बिट लगायतमा समेत आवश्यकता अनुसार प्रहरी परिचालन हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार त्यस्तै तीन सयभन्दा बढी ट्राफिक प्रहरीसमेत सवारी व्यवस्थापन तथा चेकजाँचमा खटिनेछन् ।

विगतका केही वर्ष कोरोना महामारीका कारण होली पर्व पनि खुम्चिएको थियो । यो वर्ष भने सबैले हर्सोल्लाहसका साथ मनाउने हुँदा त्यही आधारमा सुरक्षा योजना तयार भएको उहाँले बताउनुभयो ।

गत वर्षको होलीमा होहल्ला गर्ने, उच्छृङ्ख गतिविधि गर्ने १९८ जनालाई नियन्त्रण लिइएको थियो । यो वर्ष त्यस्ता गतिविधि थप बढ्ने सक्नेतर्फ सचेत हुँदै सोही आधारमा सुरक्षा योजना तयार पारिएको उहाँको भनाइ छ ।

पारिवारिक हिसावमा होली पर्व मनाउन सबैमा अनुरोधसमेत गरे । होलीको नाममा होहल्ला गर्ने, जबरजस्ती रङ दल्ने, लोला हान्ने जस्ता क्रियाकलाप गरिए नियन्त्रणमा लिएर कारवाही गरिने बताउनुभयो । त्यसरी जबरजस्ती रङ दल्नेलाई अभद्र व्यवहारमा मुद्दा चलाइने उहाँले जानकारी दिनुभयो ।