१५ बैशाख २०८१, शनिबार

निर्वाचनको रणनीति बनाउने एमालेको तयारी, सचिवालय बैठक बस्दै

Uml New office 1024x538 1

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ।

फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो।

एमालेको मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसबारे छलफल गर्ने भएको छ। यसअघिको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेको एमालेले यसपल्ट पनि परिणाम दोहोर्‍याउने लक्ष्य राखेको छ।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्ने विषयमा छलफल भएको छ। ‘केन्द्रीय सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी एजेन्डा बन्न सक्छ।

अब पार्टीको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भन्नुभयो। महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचन तथा केन्द्रीय कमिटीको बैठकसम्बन्धी विषयमा छलफल भएको थियो।

बैठकमा चुनावी कार्यनीति, रणनीति, घोषणापत्र निर्माणजस्ता विषयवस्तुबारे छलफल भएको बताइएको छ। एमालेले निर्वाचनको रणनीति तय गर्न चैत ७ गते पोलिटब्युरो, ८–९ गते केन्द्रीय कमिटी र १४ गते स्थायी समितिको बैठक बोलाएको छ।