१५ चैत्र २०८०, बिहीबार

­जारी ‘झापा गोल्ड कप’को सेमिफाइनलमा घरेलु टोली झापा प्रवेश

jhapa goldcup 1

घरेलु टोली झापा­–११ फुटबल क्लब यहाँ जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीवार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

झापा­–११ का लागि विमल घर्ती मगर, विशाल राई बी, बिश्वास श्रेष्ठले गोल गरे । रेडपाण्डाले झापा­–११ लाई एक गोल उपहार दियो ।

रेडपान्डाले एक गोल फर्कायो । उसका लागि ६६ औँ मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो ।

झापा­–११ ले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको ३१ औँ मिनेटमा झापाका विमल घर्ती मगरले पेनाल्टीमार्फत गोल गरे । सिक्किमका सागर गुरुङले झापाका रुपेश बर्तौलालाई डिएरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरे ।

५५ औँ मिनेटमा सिक्किमका पिन्सो भुटियाले अन गोल गरे । झापाका लागि तेस्रो गोल ५८ औँ मिनेटमा कप्तान विशाल राई बीले गरे । उनले सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिवाउन्स भएको बललाई पोस्टको दिशा दिए ।

७७ औँ मिनेटमा विमल घर्ती मगरले पेनाल्टीमार्फत टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे । सिक्किमका पिन्सो लेप्चाको हेन्ड बलमा पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरे ।

तर, ६०औँ मिनेटमा पाएको पेनाल्टीमा झापाका लागि विमलको प्रहारलाई सिक्किमका गोलरक्षक मिन्डुप लेप्चाले पञ्च गर्दै बचाए ।

खेलको ८९ औँ मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को अन्तरमा पुर्याए । मैदानको मध्यभागबाट लगेर गरेको प्रहार गोलमा परिणत भयो । खेलको ८४औँ मिनेटमा सिक्किम १० खेलाडीमा समेटियो । सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।

सिक्किमका कुनेमान थापाले खेलको १६ औँ मिनेटमा अमन रसाइलीको पासमा गरेको प्रहार बाहिरियो । बिहीबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए ।

योसँगै पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलको समीकरणका खेल पूरा भएका छन् । जीतसँगै झापाले शनिबार संकटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताएका छन् ।