१६ चैत्र २०८०, शुक्रबार

बीस रुपैयाँसम्म प्रतिलिटर पेट्रोलको मूल्य बढेर आउने निगमको भनाइ

Nepal Oil NOC

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर नेपालमा पनि देखिएको छ । विश्व बजारमै मूल्य वृद्धिपछि नेपालमा पनि आयल निगमले घाटामा रहेको बताउँदै महिनाकै तीनपटकसम्म पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

डलरको मूल्य अकासिनु अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ देखि ३ डलरले वृद्धि भइरहेका बेला रसिया र युक्रेनबीचको युद्धले मूल्य ह्वात्तै बढेर बाहिर गइसकेको छ ।

निगमका प्रवक्ताका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो । यस्तो अवस्था लामो समय रहिरह्यो भने निगमको घाटा १० अर्ब माथि जाने देखिएको निगमनै स्वीकार्छ ।

यस्तै अवस्था आइरह्यो भने अब आउने नयाँ मूल्य सुचिमै प्रतिलिटर डिजेल तथा पेट्रोलको मूल्य १५ देखि २० रुपैयाँसम्म बढेर आउने निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउनुहुन्छ ।

निगमको पछिल्लो समय अर्थात मार्च ३ मा गरिएको मूल्य समायोजनपछि हाल १५ दिनमा २ अर्ब ५० करोड भन्दा बढी घाटा हुने देखिएको आयल निगमको भनाइ छ । तर, यही अवस्था रहिरहे ५ अर्ब माथि घाटा हुने देखिएको छ ।

डिजेल तथा पेट्रोलमा ५–५ रुपैयाँ मूल्य समायोजन गर्दा पेट्रोलमा १६ रुपैयाँ २८ पैसा र डिजेलमा करिब १२ रुपैयाँ र प्रतिसिलिण्डर एलपीजीमा ६ सय ६५ रुपैयाँ भन्दा बढी घाटा रहेको निगम बताउँछ ।

भारतबाट आएअनुसारको मूल्य नबढाउँदा निगमलाई पेट्रोलियम पदार्थ आपूर्ति सुचारू गर्नसमेत चुनौति देखिए प्रवक्ता उपाध्यायको भनाइ छ । नेपालले इन्धन भारतबाट मात्र खरिद गर्ने भए तापनि भारतले अन्य राष्ट्रबाट आपूर्ति गर्ने हुँदा यसको असर विश्व बजारमै पर्ने भएको छ ।

अहिले रुसको केहि बैंकलाई अन्तर्राष्ट्रिय बैकिङ कारोबारको स्वीफ्ट प्रणाली रोकिएको छ भने माष्टर, भिजा सेवा पनि रोकिएको अवस्था छ । आइफोन, माइक्रोसफ्ट जस्ता संयुक्त राज्य अमेरिका र युरोपियनका बहुराष्ट्रिय कम्पनीले रुसमा आफ्नो शाखा कार्यालय बन्द गरेका छन् ।

नेटो समर्थित देशहरू जैविक इन्धनमा पनि प्रतिबन्ध लगाउने तयारीमा छन् । र यसरी प्रतिबन्ध लगाएमा रुसले निश्चित रूपमा युरोपलाई ग्यास दिन बन्द गर्ने अनुमान छ । जसले गर्दा पुरै युरोपमा महंगी बढ्नेछ ।

यदि रुसको जैविक इन्धनमा प्रतिबन्ध लगाएमा कच्चा जैविक इन्धन अर्थात पेट्रोलको मूल्य २ सय डलर प्रतिब्यारेल (१ ब्यारेल . लगभग १५९ लिटर) भन्दा माथि पुग्ने अनुमान लगाएका छन् । यदि त्यसो भयो भने नेपालमा प्रति लिटर २५० भन्दा माथि पुग्ने निश्चित छ ।