१२ बैशाख २०८१, बुधबार

गुलियो अभिव्यक्ति परराष्ट्रमन्त्रीको उच्चस्तरीय भ्रमणको विषयमा !

narayan khadka

नेपालमा विश्वशक्ति राष्ट्रहरुको नजर परिंरहँदा परराष्ट्रमन्त्री उच्चस्तरीय भ्रमणको गुलियो अभिव्यक्तिमै रमाउन थाल्नुभएको छ । टुंगो नै नलागेको भ्रमणलाई आफ्नो ठूलो उपलब्धिको रुपमा व्याख्या गर्न परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले पत्रकारसम्मेलन नै आयोजना गर्नुभयो ।

कुन देशबाट को आउन लागेको हो भन्ने प्रश्नमा परराष्ट्रमन्त्री खड्काले गोलमटोल जवाफ दिँदै कुरा रहस्यमा राख्न खोजेको संकेत गर्नुभयो । के उच्चस्तरीय भ्रमण गोप्य राख्ने विषय हो ?

सोमबार परराष्ट्र मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री डा. नारायण खड्काले दिएको अभिव्यक्ति । विदेशबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको र त्यो भ्रमणको लगभग तयारी भएको संकेत उहाँको थियो । तर कुन देशबाट भ्रमण हुन लागेको हो भन्ने जिज्ञासामा मन्त्री खड्काले केही दिनमै थाहा हुने भन्दै थप कौतुहलता छोड्न चाहेको जसरी रहस्यमय जवाफ दिनुभयो ।

गत असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार गठन भएदेखि नै नेपालको परराष्ट्र सम्बन्ध कमजोर देखिन्छ । यो अवधिमा आफ्नो रुचिका आधारमा वा नेपाललाई दबाब दिने नियतले भएका केही विदेशी भ्रमणबाहेक उच्चस्तरीय भ्रमण हुन सकिरहेको छैन । न त नेपालबाट कुनै पनि देशको राजकीय भ्रमण भएको छ ।

यतिसम्मकी विदेश मामिला हेर्ने परराष्ट्रमन्त्रीकै भ्रमण पनि नगन्य मात्रामा भएको छ । यो अवधिमा कुनै पनि देशसँग दुईपक्षीय सन्धी–सम्झौता, व्यापार वा वाणिज्य सम्झौता उल्लेख्यरुपमा भएको छैन । भारतसँग हुने नियमित बैठकहरु र व्यापार सम्झौताहरुको नवीकरणसमेत औँलामा गन्न सकिने संख्यामा भएका छन् ।

वर्तमान सरकारले यो बीचमा तेस्रो मुलुकसँग कुनै उल्लेख्य सम्बन्ध स्थापित गर्न सकेको छैन । सीमा विवाद देखिइरहने भारतसँग कर्मचारीस्तरमा भएका केही छलफलबाहेक मन्त्रीस्तरमा सम्झनलायक छलफल भएका छैनन् । यस्तो परिस्थितिमा परराष्ट्रमन्त्री डा. खड्का भने मुख मिठ्याएर बसेका नानीबाबुहरुलाई मिठो चक्लेट ल्यादिन्छु है भनेजसरी उच्चस्तरीय भ्रमणको लोभ देखाउनु भएको छ ।

आफ्नो कार्यकालको पाँच महिनामा खासै काम गर्न नसकेका मन्त्री खड्काको यस्तो भनाइले उहाँकै कद घटाएको छ । शक्ति राष्ट्रहरुको नजर परेको वर्तमान नेपालका परराष्ट्रमन्त्री ठेगाननै नभएको उच्चस्तरीय भ्रमणमा खुसी हुनुले कुटनीतिवृत्तमा नेपालको धोति खुस्किएको ख्यालनै नगरेको भान हुँदैछ ।

नेपाल कहिल्यै कुनै पनि देशको अधिनमा नरहेको, सार्वभौमसत्ता सम्पन्न, सर्वकालीन स्वतन्त्र मुलुक हो । राजनीतिक नेतृत्वको लाचारीबाहेक देशले कसैसँग कहिल्यै शीर झुकाएको छैन । त्यसैले विदेशी मित्रहरुसँगको सम्बन्ध समानतामा आधारित छ ।

नेपाल कुनै पनि मित्र राष्ट्रसँग फेस टू फेस कुरा गर्न सक्छ । दौत्य सम्बन्ध स्थापित भएका देशसँग समान हैसियतमा आफ्नो कुरा राख्न, द्वीपक्षीय सहयोग आदानप्रदान गर्न र वैश्विक परिस्थितिबारे आफ्नो तर्क, टिप्पणी र विचार दिन सक्छ । तर परराष्ट्रमन्त्रीले कुनै पनि देशबाट तय भइनसकेको भ्रमणबारे आलोकाँचो अभिव्यक्ति दिएर मुलुक विदेशी नेताको भ्रमण र उनले दिने उपहारहका लागि र्याल काढेर बसेको जसरी मुख मिठ्याएर अभिव्यक्ति दिनु लज्जाजनक देखिएको छ ।

सामान्य अभ्यासमै हेर्ने हो भने केही समयअघि भारतको गुजरातमा हुने भनिएको एक सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुन लागेको जानकारी हप्तौँ अगाडि सार्वजनिक गरिएको थियो ।

कोभिडका कारण भ्रमण हुन नसके पनि जानकारीलाई गोप्य राखिएन । फेरि पनि प्रधानमन्त्री देउवा केही हप्तापछि श्रीलंकामा हुने बिम्स्टेक सम्मेलनमा जाने तयारी चल्दैछ, यो कुरालाई पनि गोप्य राखिएको छैन । तर विदेशबाट कसैले कोशेलीको भारी बोकेर आउँदैछ भनेर सस्पेन्स राख्न खोजिएको छ ।

अनि कोशेली आएपछि सरप्रराइज दिने भाव मन्त्रीको अभिव्यक्तिमा देखिन्छ । यस्ता अभिव्यक्तिले नेपाल कसरी विदेशीहरुमाथि आफूलाई आश्रित देखाउँदैछ भन्ने कुराको उदाहरण पस्किँदैछन् । कुनै उच्चस्तरीय भ्रमण हुने नै हो भने यसबारे स्पष्ट पारेर त्यसमा नेपालले आफ्नो तयारी थाल्नुपर्छ । नत्र यस्ता विषय परिपक्व नहुँदै लेघ्रो तानेर बस्ने र यसैमा रमाउन खोज्ने प्रवृक्ति कमजोर कुटनीति मात्र होइन परनिर्भरताको पराकाष्ठा हो ।