६ बैशाख २०८१, बिहीबार

विवाद मतपत्र रंग: चुनाव चिह्नको रंगले मतमा प्रभाव पर्छ ?

Election Commission Nepal

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा चुनाव चिह्न हरियो रंगको प्रयोग हुने जानकारी निर्वाचन आयोगले दिएको थियो ।

सोमबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा आगामी निर्वाचनमा मतपत्रमा निर्वाचन चिह्न हरियो रङको हुने बताएको थियो ।
तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसको बिरोध गरेको छ ।

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै दल विशेषलाई फाइदा पुग्ने गरि आयोगले निर्णय गरेको आरोप लगाउनु भयो । कमजोर आँखा हुनेहरुले रुखैरुख देखुन् भनेर हरियो राख्न लागेको ओलीको टिप्पणी थियो ।

‘के हिसाबले हो यो चिह्न राख्ने? अथवा कसैको हरियो देखिने चिह्न छ कसैको, त्यसकारण राख्ने? केका लागि राख्ने? सबैतिर जनताले आँखा नदेख्ने, कमजोर आँखा हुनेहरुले रुखैरुख देखुन् भनेर हरियो राख्ने हो? किन हरियो राख्ने?’ ओलीको प्रश्न थियो ।

उहाँले कांग्रेसको चुनाव चिह्न रुख हरियो हुने भएकाले त्यसलाई फोकस गर्न यस्तो निर्णय गरिएको दाबी गर्नुभयो । मतपत्रमा हुने चिह्नको रंगले मतपरिणाममा प्रभाव पर्ने संकेत ओलीको थियो ।

तर, निर्वाचन आयोगले भने यसअघिका निर्वाचनमा देखिएको समस्या समाधानका लागि यस्तो निर्णय गरिएको दाबी गरेको छ । पहिला मतपत्र नीलो रातो हुँदा र स्वस्तिक पनि नीलो हुँदा गणनामा समस्या भएको आयोगको दाबी छ । पहिलेको पत्र नीलो रातो हुँदा स्वस्तिक छाप पनि नीलो हुने भएकाले गणना गर्दा स्पष्ट नभएपछि चिह्न हरियो बनाइएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सबै निलो हुँदा गणनामा स्पष्टरुपमा नदेखिएकोले यसलाई प्रष्ट देखिने बनाउन खोजिएको बताउनु भयो ।

‘चिह्न, धर्का र छापसमेत निलो हुँदा स्पष्ट रुपमा देख्न सकिएन’ उहाँले भन्नुभयो, ‘ यसलाई चहकिलो बनाउन खोजिएको हो ।’ तर, एमाले अध्यक्ष ओ‌लीले भने मतपत्रमा चिह्नको रंग फेर्ने त्रुटि आयोगले सच्याउनु पर्ने बताउनु भयो ।

यदि हरियो राख्ने निर्णय गरेको हो भने, होइन भने सञ्चार माध्यमले आफ्नो त्रुटि सच्याउनुपर्छ । यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले त्यस्तो त्रुटि सच्याउनुपर्छ। हरियो सरियो हुँदैन’ ओलीले भन्नुभयो ।

निर्वाचन आयोगले सोमबार विज्ञप्ति निकालेर हरियो रंगको जानकारी दिएको थियो। ‘स्थानीय तहको निर्वाचनको लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरु हरियो एसकेड्यास-३०८१ स्पेसक्ट्रम ब्राइट ग्रीन मसीले छपाइ गर्ने गरी आयोगबाट निर्णय भएको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ । २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ ।

sample ballot paper