८ बैशाख २०८१, शनिबार

गुटकै झझल्को प्रस्ट कांग्रेसभित्र !

Gagan thapa and bishwoprakash sharma
फाइल फोटो

नेपाली कांग्रेसभित्र महाधिवेशनपछि गुटबन्दी अन्त्य हुने ठानिए पनि पुनः गुटहरु सक्रिय हुन थालेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसभित्र गुटबन्दी कम हुँदै गएको दाबी गरिरहँदा पछिल्ला गतिविधिमा भने गुटकै झझल्को प्रस्ट देखिन्छ ।

गुटहरुको महासंघका रुपमा हेरिने नेपाली कांग्रेसमा १४औं महाधिवेशनपछि पुराना गुट संरचनामा फेरबदल देखियो । संस्थापनइतर समूहका नेता रामचन्द्र पौडेल मौन बस्दा सोही समूहका अर्का प्रभावशाली नेता प्रकाशमान सिंहले सभापतिमा अन्तिममा शेरबहादुर देउवालाई सघाउनुभयो ।

कांग्रेसभित्र थर्ड पोल भनेर चिनिने कृष्ण सिटौला नेतृत्वको गुट महाधिवेशनमा विभाजित भयो । सिटौला र प्रदीप पौडेल देउवा क्याम्पमा पुग्दा गगन थापा भने शेखर कोइराला समूहमा पुग्नुभयो । पार्टीमा गुट हावी हुन नहुने र पार्टी एकतावद्ध बनाउने दाबी गरेका नेताहरु नै अहिले पदाधिकारीका रुपमा छन् । उनीहरुले कांग्रेसभित्र गुट अन्त्य हुनुपर्ने र सभापतिकै हात बलियो बनाउनुपर्ने बताइरहेका छन् ।

१४औं माहधिवेशनअघि सभापति देउवा निकट रहेका विश्वप्रकाश शर्मा प्रकाशमान सिंह गुटबाट महामन्त्री निर्वाचित हुनुभयो। कांग्रेसभित्र गुटको नयाँ ध्रुवीकरण हुने ठानिइरहँदा महामन्त्री शर्मा पनि पार्टी एकताकै पक्षमा देखिनुहुन्छ । महामन्त्रीद्वय थापा र शर्मा मात्र होइन सभापतिमै प्रतिस्पर्धा गरेका शेखर कोइराला पनि सार्वजनिक रुपमा विगतका तुष नरहेको बताउनु हुन्छ ।

गुटको पक्षमा नरहेको वा गुट अन्त्य भएको बताउने यिनै नेताहरु पार्टीभित्र भने गुटको संरक्षणमा आफै जुटेका छन् । आइतबार विराटनगर महानगर समितिले गरेको कार्यक्रममा पार्टीको पछिल्लो वरियतामा रहेका तर देउवाइतर गुटको नेतृत्व गरेका कोइराला प्रमुख अतिथिको कुर्सीमा आशिन हुनुभयो ।

पार्टीको पदाधिकारी र वरियतामा पनि माथि रहेका महामन्त्री गगन थापा भने अतिथिका रुपमा मात्रै रहनुभयो । वरियता मिचेर गरिएको आतिथ्यता स्वीकार गर्ने नेता कोइराला र महामन्त्री थापा गुटको संरक्षणमै देखिनुभयो ।

मञ्चमा कोइराला प्यानलबाट उपसभापतिमा पराजित चन्द्र भण्डारी र निर्वाचित धनराज गुरुङ लहरै देखिनुभयो। यतिमात्र होइन अधिवेशन हुन रोकिएका १६ जिल्लामा सभापति देउवा र नेता कोइराला पक्ष प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

चुनावी नतिजा गुटकै आधारमा आइरहेको छ । कांग्रेसको १४औँ महाधिवेशनले पदाधिकारी र केन्द्रीय सदस्यको चयन गर्दा गुट अन्त्यको सन्देश दिएको थियो । प्रभावशाली नेताहरुको जित त थियो नै त्यसपछि नेताहरुले सार्वजनिक अभिव्यक्तिमै अब गुटगत राजनीति अन्त्य भएको बताएका थिए । तर आफ्नै अभिव्यक्तिविरुद्ध यिनै नेताहरु गुट बचाउनेतर्फ नै केन्द्रित भएका छन् ।