८ बैशाख २०८१, शनिबार

सानदार जित टोटनहमको एभर्टनमाथि

tottenham

कप्तान ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले सोमबार राति इङ्लिस प्रिमियर लिगको रेलिगेशनको डरमा रहेको एभर्टनमाथि ५-० को सानदार जित निकालेको छ । जितसहित टोटनहमले शीर्ष चारमा बस्ने सम्भावना बलियो पारेको छ ।

१४औँ मिनेटमा एभर्टनका माइकल किनको आत्मघाती गोलमा टोटनहमले अग्रता लियो । त्यसको तीन मिनेटपछि नै ह्युङ मिन सनले टोटनहमको अग्रता दोब्बर पारे । ३७औँ मिनेटमा केनले गरेको गोलमा एन्टोनियो कोन्टेको टोलीले पहिलो हाफमै ३(० अग्रता लिएको थियो ।

४६औं मिनेटमा सर्जियो रेग्युलियले गरेको गोलमा टोटनहम सहज जिततर्फ लम्किएको थियो । ५५औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेसँगै कोन्टेको टोलीले सहज जितसहित शीर्ष चारको सम्भावना कायम राखेको हो ।

टोटनहम २६ खेलमा ४५ अंकसहित सातौं स्थानमा छ । जुन चौथो स्थानको आर्सनल भन्दा तीन अंक मात्र कम हो । पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडको ४७ र छैटौं स्थानको वेस्ट हमको ४५ अंक रहेको छ ।

लगातारको खराब प्रदर्शनले एभर्टनका प्रशिक्षक फ्रयांक लाम्पार्ड दबाबमा परेका छन् । २५ खेलबाट २२ अंक जोडेको एभर्टन १७औं स्थानमा छ । जुन १८औं स्थानको बनर्ली भन्दा एक र १९औं स्थानको वाट्फोर्ड भन्दा तीन अंक मात्र बढी हो ।

एभर्टनले लिगका पछिल्लो १८ खेलमा १४ खेल हारेको छ । शनिबार ओल्ड ट्राफोर्डमा युनाइटेडलाई हराउन सके कोन्टेको टोली चौथो स्थानमा उक्लिनेछ । एभर्टनले भने आइतबार गुडिसन पार्कमा उल्भरहमटनलाई आतिथ्य गर्नेछ ।