११ बैशाख २०८१, मंगलवार

न्यु कान्तिपुर होटल एण्ड लजमा मृत भेटिएकी महिलाको हत्या आरोपमा एक पक्राउ

arrest dharan

सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर १८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा यही फाल्गुन १७ गते मृत फेला परेकी महिलाको पहिचान भएसँगै उनको हत्यामा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका वडा नम्बर ६ धनकुटाका २४ वर्षीय जीवन उपनामका विनेश राना रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । गत फागुन १७ गते बिहान ७ बजे होटलको कोठामा १ जना महिला मृत रहेको परेकी थिइन् ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोली घटनाबारे अनुसन्धान शुरु गरेको थियो । प्रहरीको अनुसन्धानबाट ति महिला मिक्लाजुङ गाउँपालिका–१ पाँचथर घर भई हाल इटहरी–५ मा बस्दै आएकी ३९ वर्षीया सुमित्रा तामाङ रहेको खुलेको थियो ।

यसरी मृतकको पहिचान खुलेसँगै उक्त घटनामा संलग्नको खोजतलास गर्ने क्रममा रानालाई हिजो बेलुका धनकुटाको पाख्रीवास–११ बाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

हत्या आरोपमा पक्राउ परेका रानाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।