८ बैशाख २०८१, शनिबार

संसद बैठक आज बस्दै, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव अघि बढाउने तयारी

nepal parliament building

प्रतिनिधिसभा बैठक आज बस्दैछ । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढ्ने सम्भावना रहेको छ ।

गत बुधबारको प्रतिनिधिसभाको बैठकपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नियमावलीमा भएको व्यवस्थाअनुसार महाअभियोग प्रस्ताव अघि बढ्ने बताउनुभएको थियो ।

आजको बैठकमा प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने उहाँको भनाइ थियो । महाअभियोग लाग्न योग्य छ कि छैन भन्ने विषयका लागि ११ जनाको महाभियोग सिफारिस समिति बन्ने कानूनी व्यवस्था छ।

यसको वस्तुगत आधारसमेत तयार गरेर पुनः संसदमा निर्णयार्थ ल्याउनका लागि तीन महिनाको समय पाउने पनि कानूनमन्त्री बडुले बताउनुभएको थियो ।

गत फागुन १ गते सत्तारुढ गठबन्धन दलले प्रधानन्यायाधीशविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको थियो। यता संघीय संसद सचिवालयले दिउँसो १ बजे बस्ने संसद बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७ –०७८ पेश गर्ने कार्यतालिका छ । यसअघि बिहान साढे ११ बजे संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ । आफूले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई हटाउनुपर्ने एमालेको माग छ ।