१६ चैत्र २०८०, शुक्रबार

ठूलो बनाउने नाममा धेरै गल्तीहरू भए, विगतको त्रुटि अब दोहोर्‍याउदिनँ : कमल थापा

kamal

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमी कमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने बताउनुभएको छ ।

राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकोले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताउनुभयो ।

संवर्द्धनवाद, सुशासन र समृद्धिको मुख्य एजेन्डा लिएर पार्टी अगाडि जाने बताउँदै थापाले परिवर्तन पश्चात् मुलुक त्रुटिपूर्ण मार्गचित्रबाट जबर्जस्ति अगाडि बढाइएकोले सङ्कटको दलदलमा भासिएको बताउनुभयो ।

मुलुकको शिक्षा क्षेत्र गरिब जनताको छोराछोरीको पहुँचमा नभएको, व्यावसायिक र आत्मनिर्भर नभएको चर्चा गर्दै थापाले राप्रबिसं नेपालका विद्यार्थीहरूलाई शिक्षा क्षेत्रमा भएको विकृति विसङ्गतिको अन्त्यको निमित्त सक्रियता पूर्वक भूमिका खेल्न आग्रह गर्नुभयो।

सो कार्यक्रममा कमल बम रजवारको अध्यक्षतामा ७६ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपाल गठनको घोषणा गरिएको छ । कमिटीको उपाध्यक्षमा चेतराज सिंह, राजु गैरे, लक्ष्मण पौडेल , दिपक जोशी रहेका छन् भने महासचिवमा सचिन अधिकारी र दिपेश शाह रहेका छन् भने सह-महासचिव तेज कार्की र समीर थापा, सचिव सरोज तिमल्सिना ,अस्मिता बम, कमल सुनार, शिवराम घिमिरे, आर्यन पाण्डे र प्रवक्तामा त्रिविक्रम सिंह छन् भने सह-सचिवमा विशाल राउत, सम्पदा अधिकारी र सन्दीप खड्का रहेका छन् ।