१६ चैत्र २०८०, शुक्रबार

आगामी निर्वाचनपछि बन्ने सरकार समेत गठबन्धनकै हुनेछ : प्रधानमन्त्री देउवा

mcc Gathabandhan
फाइल फोटो

सत्ता गठबन्धन बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्न नेतृत्व गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा भएको छ ।

विहीवार विहान बालुवाटारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवाको प्रशंसा गर्नुभएको हो । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले समेत प्रधानमन्त्री देउवाको प्रशंसा गर्नुभएको थियो ।

जवाफमा प्रधानमन्त्री देउवाले अमेरिकाले अझै आर्थिक सहयोग गर्ने आश्वासन दिएको बताउनुभयो। अमेरिकी दातृ निकायमार्फत् अन्य बजेट आउने देउवाको भनाइ थियो ।

बैठकमा आगामी निर्वाचनसम्मै सत्ता गठबन्धन जाने बताउनुभएको थियो । त्यसपछि गठन हुने सरकार समेत गठबन्धनकै हुने देउवाको भनाइ उधृत गर्दै स्रोतले बतायो ।

बैठकमा सहभागी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने एमसिसी पारित भएकोमा विरोध जनाउनुभएको थियो । यसले नेपालको राष्ट्रियतामा असर पर्नसक्ने समेत उहाँको चेतावनी थियो ।

एमसिसी पारित गर्ने क्रममा भएको व्याख्यात्मक घोषणालाई अमेरिकाले नस्वीकारेकोले यसको कुनै अर्थ नहुने खनाल–श्रेष्ठको भनाइ थियो । अमेरिकाले १२ बुँदे घोषणा नस्वीकारेको अवस्थामा एमसिसी खारेज हुनुपर्छ भनेर आवाज उठाउनुको सट्टा उल्टै एमसिसी पारित गरिएको भनेर सरकारलाई धन्यवाद दिएकोमा उहाँहरुको आपत्ति थियो ।