Close Me
२९ माघ २०८१, मंगलवार

शेर्पा समुदाय आज ग्याल्पो ल्होसार मनाउँदै

gyalpo lhosar

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै छन् ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाइने साँस्कृतिक पर्व शेर्पा समुदायले आज विविध कार्यक्रम गरी मनाउँदै छन् । आज नयाँ वर्षका रूपमा २१४९ औं ग्याल्पो ल्होसार मनाउँदै छन् । आज बराह वर्ष पूरा भइ मुसा वर्ष शुरु हुँदैछ ।

ग्याल्पो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ। यस अवसरमा अग्ला डाँडामा ध्वजापताका फहराउने चलन समेत छ। ग्याल्पोलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने गरिन्छ ।

शेर्पा समुदाय बुद्ध धर्ममा विश्वास राख्ने हुनाले पहिलो दिन बिहान उठेर घरमा पूजापाठ गरी र गुम्बामा गइ गुरुको दर्शन तथा आशिर्वाद लिने गरिन्छ जसलाई लामा ल्होसार भनिन्छ ।

दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई परिवार ल्होसार भनिन्छ।

तेस्रो दिन तथा अन्तिम दिन बुद्ध धर्म रक्षा गर्ने विभिन्न धर्मपाल भैरव, महाकाल आदिको पूजा गरिन्छ जसलाई धर्मपाल ल्होसार भनिन्छ। सरकारले ग्याल्पो ल्होसारका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना दिनुभएको छ ।

    सम्बन्धित समाचार...