१६ चैत्र २०८०, शुक्रबार

हाम्राे कार्यनीति हाेइन राजसंस्था पुनर्स्थापना : अध्यक्ष थापा

kamal

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पार्नु भएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्टयाउनु भएको हो ।

उहाँले हिन्दू राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताउनुभयो । धर्मनिरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न आफ्नो पार्टीले जोड दिने अध्यक्ष थापाको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘राजसंस्थाप्रति हाम्रो आस्था र सम्मान सदैव रहनेछ । नेपालको एकीकरणमा, प्रजातन्त्रको स्थापनामा, राष्ट्रियताको सुदृढिकरणमा र आधुनिकीकरणमा राजसंस्थाले पुर्याएको योगदानको उच्च प्रशंशा गर्दछौं ।

अहिलेको परिवर्तित सन्दर्भमा हाम्रो मुख्य मान्यता भनेको हिन्दू राष्ट्र, सुशासन र समृद्धि हुनेछ । राजसंस्थाप्रति हाम्रो आस्था र सम्मान रहनेछ । तर राजसंस्था पुनर्स्थापना हाम्रो कार्यनीति अहिले हुँदैन । धर्म निरपेक्षताको खारेजी र संघीयताको परिमार्जनमा पार्टीले जोड दिनेछ ।’

त्यसमा अवसरमा अध्यक्ष थापाले पार्टीमा मनोनित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्दै उत्साहका साथ काम गर्न निर्देशन दिनुभयो ।