६ बैशाख २०८१, बिहीबार

राजधानी किभ लक्षित आक्रमण गर्ने रुसको चेतावनी

russia attack

रुसले युक्रेनको राजधानी किभ लक्षित आक्रमण गर्ने चेतावनी दिएको छ ।

युक्रेनमा आक्रमण गरेको छैटौँ दिन हिजो रुसको रक्षा मन्त्रालयले अब राजधानी लक्षित आक्रमण थाल्ने चेतावनी दिएको हो । किभस्थित एक टेलिभिजन टावरमा भएको आक्रमणमा पाँच जनाको निधन भएको युक्रेनी अधिकारीको भनाइ छ ।

किभका प्राविधिक केन्द्र लक्षित आक्रमण हुने भन्दै रुसले ती स्थानबाट टाढा बस्न भनेको छ । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा हिजो भएका आक्रमणला युक्रेनले युद्ध अपराधको संज्ञा दिएको छ । खार्किभमा १० जना सर्वसाधारणको निधन भएको युक्रेनको भनाइ छ ।

यसैबीच संयुक्त राष्ट्रसंघ महासभाको विशेष सत्र आज बस्दैछ । युक्रेनमा रूसी आक्रमणबारे राष्ट्रसंघ सुरक्षा परिषद्ले १९३ सदस्यीय राष्ट्रसंघको महासभाको आपत्‌कालीन विशेष सत्र बोलाएको हो ।

यसअघिको बैठकमा रूसले युक्रेनमाथिको आक्रमणको प्रस्तावलाई रोक्न भिटो प्रयोग गरेको थियो। । युक्रेनमाथि रुसले गरेको आक्रमणको विषयलाई लिएर नेपालले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्‍मा आपतकालीन बैठक गर्ने पक्षमा मतदान गरेको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको बैठकमा तत्काल बैठक बोलाउनुपर्ने पक्षमा नेपालसहित २९ राष्ट्रले पक्षमा मतदान गरेका थिए । तर चीनसहित ५ देश प्रस्तावको विपक्षमा रहे । भारतसहित १३ देश भने मतदानमा सहभागी भएनन् ।

उता युद्ध अन्त्यका लागि रुस र युक्रेनका अधिकारीबीच आज दोस्रो चरणको छलफल हुँदैछ । यसअघि भएको पहिलो चरणको वार्ता बिना निष्कर्ष सकिएको थियो ।