७ बैशाख २०८१, शुक्रबार

विद्युत् प्राधिकरण आईपीओ निष्कासनको तयारीमा

NEA

पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेकाले त्यसअनुसार सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरिएको हो ।

प्राधिकरण विद्युत् व्यापार, उत्पादन, वितरण तथा प्रसारण गर्दै आएको सरकारी कम्पनी हो । अब त्यसमा जनताको पनि स्वामित्व हुने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शेयर जारी गर्ने विषयमा छलफल अगाडि बढाइएको बताए । अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वीकृति दिएपछि शेयर निष्कासन गरिने उनको भनाइ छ ।

‘सर्वसाधारणलाई शेयर निष्कासन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको छ,’ आर्थिक अभियानसँग उनले भने, ‘आवश्यक प्रक्रिया पूरा भएपछि शेयर निष्कासन गर्नेछौं ।’ सरकारको स्वीकृतिमा नेपाल विद्युत् प्राधिकरण ऐनमा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई शेयर जारी गरिने उनको भनाइ छ ।

‘विगतमा प्राधिकरण वार्षिक घाटा र सञ्चित नोक्सानीमा थियो, अब सबै वित्तीय सूचकांकहरूमा उल्लेख्य सुधार आइसकेको छ,’ उनले भने, ‘क्रेडिट रेटिङबाट पनि प्राधिकरणमा लगानी सबै हिसाबबाट सुरक्षित रहेको विश्लेषण गरिएको छ । अब ऐनमा भएको व्यवस्थाअनुसार शेयर निष्कासन गर्न सरकारसँग सहमति लिएर प्रक्रिया अगाडि बढाउँछौं ।’

यस्तै, प्राधिकरणले ऋण लिने सम्बन्धमा गरेको रेटिङमा इक्रा नेपालले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ दिएको छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ ।

इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्त्वलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो । आर्थिक अभियान दैनिकबाट