१२ बैशाख २०८१, बुधबार

विश्व स्वास्थ्य संगठनको चेतावनीः लकडाउन खोल्न हतारिँदा कोरोना महामारी झन् घातक हुनसक्छ

who chief

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण कम हुँदै जाँदा बिभिन्न देश्हरुले लकडाउन खुकुलो पार्दा महामारी झन् घातक बनेर फर्किन सक्ने भन्दै त्यसाे नगर्न चेतावनी दिएको छ।

जेनेभाको एक भर्चुअल पत्रकार सम्मेलनमा टेड्रोसले भने, ‘हामी संसारभरीको सरकारसँग मिलेर लकडाउनको प्रतिबन्धलाई कम गर्ने रणनीतिमाथि काम गरिरहेका छौं । यसमा हतार गरिनु हुँदैन । हतार गरेर लकडाउन हटाउँदा संसारभरी मृत्यु हुनेको संख्यामा थप वृद्धि हुनसक्छ ।’

संक्रमण कम हुँदै गएको चीनले लकडाउन खोल्ने तथा प्रतिबन्ध केही खुकुलो बनाउने गरिरहेको छ। यस्तै कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित देशकाे सूचीमा पर्ने इटाली र स्पेनले पनि केही प्रतिबन्ध खुकुलो पारेका छन्।

पछिल्लो समय अफ्रिकाको ग्रामिण क्षेत्रमा महामारी फैलिरहेको छ । यता यूरोपमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकहरु स्पेन र इटालीमा प्रतिबन्ध केही खुकुलो पारेपनि लकडाउन भने जारी छ ।

स्पेनमा केही निर्माण र उत्पादन क्षेत्रका कामदारलाई सोमबारबाट काममा फर्काउने तयारी गरिएको छ ।

तर सामाजिक दूरी कायमै राख्न सचेत गराइएको छ । स्पेनमा पछिल्लो १७ दिनमा कोरोनाका कारण दैनिक मृत्यु हुनेको संख्या ६ सयमा सिमित भएको छ ।

उता इटालीमा लकडाउनलाई मे ३ तारिखसम्म बढाइएको छ । तर गत मार्च १२ देखि बन्द केही व्यवसाय खोल्न भने अनुमति दिइएको छ ।