१४ बैशाख २०८१, शुक्रबार

इण्डोप्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गर्‍याे ओली नेतृत्वको सरकारले नेपाललाई, हामीले बचायाैं: अध्यक्ष नेपाल

madhav nepal
फाइल फोटो

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरी सत्तामा आए नेपाललाई सिध्याउने गम्भिर आरोप लगाउनु भएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दाबी गर्नुभयो ।

शनिवार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदिप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले हटाएको बताउनुभयो ।

नेपाललाई इन्डोप्यासेफिक रणनीतिको अंग बनाएर ओलीले सिध्याउने प्रयास गरेपनि आफूहरुले विरोध गरेर बचाएको अध्यक्ष नेपालको तर्क थियो । फेरि ओली सत्तामा आए इन्डो प्यासेफिक रणनीतिको अंग बनाएर नेपाललाई सिध्याउने आरोप लगाउँदै उहाँले त्यसो हुन नदिन पनि सत्तारुढ गठबन्धनलाई जोगाउन लागि परेको बताउनुभयो।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीलाई नेपाली राजनीतिको घाँडोको संज्ञा समेत दिनुभयो । ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउने अपराधपूर्ण सोच राखेको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो,  ‘बामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एउटा गठबन्धन अहिलेसम्म छ । के होला भोलि भन्ने सबैको मनमा कौतुहल चलिरहेको छ । र, कतिपयले त तुरुन्तै भत्काउनुपर्छ भनिराखेका छन, सर्त राखेर । कस्तो शर्त भन्दाखेरि पूर्वाग्रहपूर्ण शर्त छ । सभामुखलाई सिध्याउनुपर्छ महाअभियोग लगाएर, मुन्टयाएर निकाल्नुपर्छ । माधव नेपालसहितको १४ जनालाई सिध्याई दिनुपर्छ । मुन्टयाएर निकालि दिनुपर्छ । कस्तो अपराधपूर्ण चिन्तन ? अनि यस्ता चिन्तन राख्ने मानिसहरु पानी मुनि लुकेर बसेका छन् भने पनि सिध्याउछु भनेर कराउँछन् ।’

अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि पटकपटक दोहोर्याउनु भयो ।