१२ बैशाख २०८१, बुधबार

छलफलमा व्यस्त दलहरु: एमसीसीमा सहमति जुटाउन

gathbandan vs uml

अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्न सहमतिका लागि आज पनि दलहरु छलफलमा व्यस्त छन् ।

भोलि प्रतिनिधिसभाको बैठक अघि नै सहमति गर्ने प्रयासमा दलहरुले छलफललाई तिब्रता दिएका हुन् ।

संसदबाट एमसीसी पास गर्ने तयारीमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आन्तरिक छलफलसँगै राजनीतिक भेटघाटलाई तिब्रता दिनुभएको छ । हिजो मात्र प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका देउवाले आज पनि ओलीसँग छलफल गर्दै हुनुहुन्छ ।

हिजो साँझको भेटमा एमालेले एमसीसीबारे अनिर्णित नबस्ने जवाफ देउवालाई दिएको थियो । एमसीसी पारित गर्न सहमति खोज्दै बालकोट पुग्नु भएका प्रधानमन्त्री देउवालाई आफूहरु अनिर्णित नबस्ने जवाफ दिएको हो । तर त्यसका लागि एमालेले ससदनमा छलफल गर्ने वातावरण बनाउन आग्रह गरेको छ ।

संसदमा उपस्थित भएर छलफलमा भाग लिने वातावरण बनाउन एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखले राजीनामा दिनुपर्ने एमालेको अडान छ ।

छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गर्नुभयो । एमाले अध्यक्ष ओलीको निवास बालकोटमा भएको छलफलमा देउवाले अधिकतम सहमतिबाट एमसीसी अनुमोदनमा जोड दिनु भएको थियो ।