१२ बैशाख २०८१, बुधबार

बदली रहने आज देशभरको मौसम

weather aajko mausam

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भू–भागमा मौसम बदली रहने जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने बताएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानहरुमा तथा बागमती र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/असिनासहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशको उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ। आज राति देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा लगायत बागमती र प्रदेश १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा आंशिक बदली रहनेछ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश का उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले देशभरको मौसम बदली हुने भएकाले हिमपात, वर्षा र गर्जन/चट्याङ्ग/असिनासहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।