१३ बैशाख २०८१, बिहीबार

जहाँ भेट्यो त्यही पक्राउ, देशभर पल शाह खाेज्दै प्रहरी

Paul Shah

जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिका गायिकालाई बलात्कार गरेको जाहेरी परेपछि पल शाहलाई पक्राउ गर्न देशभर खोजी भइरहेको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी विष्णु कुमार केसीले शाहलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय तनहुँले दर्ता भएको जाहेरी र पलको हुलिया खुलाउँदै पक्राउ गरी तनहुँ पठाउन देशभर प्रहरी कार्यालयलाई सर्कुलर गरिएको हो।

सर्कुलरमा जिल्ला दाङ घोराही उप महानगरपालिका वडा नं। २ रामपुर स्थायी वतन भई हाल काठमाडौँ–१० नयाँबानेश्वर खरीबोट ओमशान्तीचोक बस्ने वर्ष अं. ३२ को पूर्ण विक्रम साह (पल शाह) उल्लेख छ।

सर्कुलरमा ‘गहुँगोरो वर्ण भएको, कपाल लामो पालेको, उचाइ अं. ५.७” भएको मध्यम शरीर’ उल्लेख गर्दै निजलाई जहाँ भेट्यो त्यही पक्राउ गरी तनहुँ पठाउन आग्रह गरिएको छ। 

पल काठमाडौँ उपत्यकामा रहेकाले उनको खोजी अहिले काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रमा तीव्र रुपमा भइरहेको छ ।

पल शाह भने, आफूमाथि लागेको आरोप प्रमाणित भए कानून अनुसार सजाय भोग्न तयार रहेको बताएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफूमाथि षणयन्त्र भएको भन्दै दोषी ठहरिए कानुन अनुसार सजाय भोग्न तयार रहेको बताएका हुन्।

यद्यपी प्रहरीबाट उनी भागिरहेका छन्। प्रहरीले उनको खोजी गरिरहेको बताएको छ।

पोखरामा सुटिङबाट काठमाडौं फर्कने क्रममा तनहुँको दुलेगौंडामा प्रदीप थापाको घरमा बास बसेको र शाहले मदिरापान गरेर मध्यरातमा जबर्जस्ती गरेको जाहेरीमा उल्लेख छ।

यसअघि पोखरास्थित होटल प्राइम, चितवनस्थित गैंडाकोट रिसोर्टमा समेत शाहले पटक-पटक बलात्कार गरेको पीडित पक्षले जनाएका छन्। गायिकाको कोठामा दिनहुँ आउजाउ गर्न शाहले कोठा सार्न समेत दबाब दिएको उल्लेख छ।

नाबालिका गायिकामाथि बलात्कार आरोपमा उजुरी दिएका पीडित परिवारले शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ अनुसार अपराधमा कारबाही गर्न माग गरेका छन्।