१६ चैत्र २०८०, शुक्रबार

नेपाल तेस्रो

Nepal cricket

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान हासिल गरेको छ ।

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ९ विकेटले पराजजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १६ दशमलव २ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । कुशलले अविजित रहँदै ५५ रन बनाए । त्यसैगरी आरिफ शेख २१ रनमा अविजित रहे भने आसिफ शेख १३ रनमा आउट भए । ओमानका जिसन मक्सुदले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो । ओमानका लागि जिसन मक्सुदले सर्वाधिक २१ रन बनाए । यस्तै अयान खानले १६ तथा नसिम खुसीले १५ रनको योगदान गरे ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट हात पारे । सागर ढकाल, आरिफ शेख, कमल सिंह ऐरी, अविनाश बोहराले एक–एक विकेट लिए । यसअघि मङ्गलबार भएको सेमिफाइनल खेलमा नेपाल युएईसँग पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको थियो ।