६ बैशाख २०८१, बिहीबार

सक्रिय दौडधुप प्रधानमन्त्री देउवाको एमसीसी पास गराउन

pm deuba
फाइल फोटो

 संसदमा एमसीसी प्रस्ताव पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सक्रिय हुनुभएको छ । उहाँले कहिँ आफै त कहीँ आफ्ना विश्वासपात्रहरुलाई खटाएर एमसीसीमा सहमति जुटाउने प्रयास जारी राख्नुभएको हो ।

लामो समयको अन्योल चिर्दै गत आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी प्रस्ताव संसदमा टेबल गर्नुभयो । तर, जतिबेला सरकारकातर्फबाट मन्त्री कार्की प्रस्ताव पेश गर्दै हुनुहुन्थ्यो, सरकारकै अन्य घटक भने त्यसको विरोधमा उत्रिए ।

संसदभित्र मात्र होइन संसदबाहिर पनि सत्ताघटक दल माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता एमसीसीको विपक्षमा नाराबाजी गर्दै थिए । अहिले पनि सत्ताघटककै नेताहरु एमसीसीप्रति सकारात्मक देखिँदैनन् ।

सत्ताघटकबीच असहमतिका बाबजुद एमसीसी संसदमा टेबल गराएका प्रधानमन्त्री देउवा अहिले प्रस्ताव पारित गराउन सक्रिय बन्नुभएको छ । मंगलबार बेलुकी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग देउवा आफैंले संवाद गर्नुभयो ।

बुधबार प्रधानमन्त्रीका विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाँण सत्तासाझेदार दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुग्नुभयो । त्यसलगत्तै एमाले अध्यक्ष ओली भेट्न बालकोट पुग्नुभयो । ओलीसँग पनि खाँणले प्रचण्डसँगै राखेको प्रस्ताव दोहोराउनुभयो ।

देउवाकातर्फबाट अन्य दलसँग सहमति जुटाउन कांग्रेस नेता रामचन्द्र पौडेल पनि सक्रिय हुनुहुन्छ । सरकारमा रहेका दलहरुमा सहमति नजुटे एमसीसी निर्णयार्थ पेश हुनुअघि नै गठबन्धनको छिनोफानो भइसक्ने छ ।

एमसीसी प्रस्तावमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक भइसकेको छ । यसअघि संसदमा एमसीसी टेबल गर्दा पन्छिएका माओवादी नेता शर्मा भोलि यही प्रस्ताव लिएर रोष्ट्रममा पुग्नुहुन्छ पुग्नुहुन्न चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री देउवाको सक्रियता हेर्दा गठबन्धनभित्र सहमति नजुटे ओलीले राखेको प्रस्तावमा अघि बढ्नसक्ने कांग्रेस नेताहरु बताउँछन् । मंगलबारको छलफलमा ओलीले एमसीसीमा सहयोग चाहिने हो भने पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस्नु पर्ने यदि त्यसो नभए सभामुख अग्नि सापकोटाले पदबाट बाहिरिनुपर्ने शर्त राख्नु भएको थियो । त्यसमा प्रधानमन्त्री देउवाले जवाफ दिइसक्नु भएको छैन । एमसीसीमा सहमत बनेर गठबन्धन जोगाइरहने वा विरोध कायम राखेर कांग्रेसलाई एमाले नजिक पुर्‍याउने, बल प्रचण्ड र माधव नेपालको कोर्टमा पुगेको छ ।