१४ बैशाख २०८१, शुक्रबार

पुरानै सत्ता उल्ट्याउन क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच संघर्ष चलिरहेको प्रचण्डको आरोप

61c86f1722925 prachanda photo
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपालमा क्रान्तिकारी र प्रतिक्रान्किारीबीच संघर्ष चलिरहेको औंल्याएका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे राष्ट्रिय राजनीति तथा संसदमा पक्ष र विपक्ष गरी दुई ध्रुवमा विभाजित भइरहेको अवस्थामा अध्यक्ष प्रचण्डको उक्त भनाइ आएको हो।

बिहीबार बस्ने संसद बैठकमा एमसीसीबारे निर्णय गर्ने सम्भावना बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाली कांग्रेस बिहीबार नै एमसीसीबारे टुंग्याउनुपर्ने पक्षमा छन् । यसको लागि प्रधानमन्त्री देउवा र कांग्रेस नेताहरु जोडतोडका साथ लागिपरेका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार साँझ प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग यसै सन्दर्भमा भेटवार्ता गरेका थिए । यसलगत्तै बुधबार बिहान देउवाले आफ्नो दूतको रुपमा गृहमन्त्री बालकृष्ण खाँणलाई भक्तपुरको बालकोटस्थित ओली निवास पठाएका छन् । उक्त भेटमा खाँणले एमाले अध्यक्ष ओलीसँग संसदबाट एमसीसी अनुमोदन गर्न सहयोग मागेका थिए जहाँ ओलीले खाँणलाई एमालेको पुरानै माग सुनाएर पठाएका थिए ।

ओलीलाई भेट्न भक्तपुर बालकोट पुग्नुअघि गृहमन्त्री खाँण ललितपुरको खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए । त्यहाँ पनि एमसीसी संसदबाट अनुमोदन गर्नेबारे छलफल भएको थियो । उक्त बैठकपछि अध्यक्ष प्रचण्डले बुधबार सामाजिक सञ्जाल फेसबुकमा नेपालमा अहिले क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच संघर्ष चलिरहेको औंलाएका हुन् ।

उनले प्रतिक्रान्तिकारीहरूले कैयौँ षड्यन्त्र रचिरहेर भ्रम छरिरहेको भन्दै ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुने दाबी गरेका छन् । प्रचण्डले लेखेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीबीच संघर्ष चलिरहेको छ । उनीहरूले कैयौँ षड्यन्त्र रचिरहेर भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ ।’

प्रचण्डको यस भनाइले एमसीसीको कारण मुलुक दुईकित्तामा उभिएको स्पष्ट हुन्छ । साथै नेपाली कांग्रेस जुनसुकै हालतमा एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा रहेको यसबाट पुष्टि हुन्छ । प्रधानमन्त्री देउवा एवम् कांग्रेस जबरजस्ती एमसीसी पारित गर्ने पक्षमा रहेको देखी प्रचण्डले उक्त स्टाटस सार्वजनिक गरेको हुनसक्ने राजनीतिक पर्यवेक्षकहरु बताउँछन्।

माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी संसदबाट जबरजस्ती पारित गरिए सरकारबाट बाहिरिने निर्णय नै गरिसकेको छ ।