१३ बैशाख २०८१, बिहीबार

यस्तो आरोप लगाए देउवामाथि खनालले !

Jhalanath Khanal
फाइल फोटो

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी दबाब थेग्न नसकेर एमसीसी संसदमा पेश गरेको बताउनु भएको छ ।

उहाँले अमेरिकासामू नेपाल सरकार नतमस्तक भएर एमसीसी संसदमा पेश गरेको आरोप लगाउनु भयो ।

पूर्व प्रधानमन्त्री खनालले प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनको बैठकमा एमसीसी चाँडो टुंग्याउने र एमसीसी नेपालको हितमा रहेको बताएको जानकारीसमेत दिनुभयो।

पूर्व प्रधानमन्त्री खनालले एमसीसीबारे अध्ययनका लागि सरकारले गठन गरेको तीन सदस्यीय कार्यदलमा पनि हरेक पार्टीका नेताहरुको आआफ्नै धारणा आएकाले एमसीसीको बारेमा स्पष्ट लिखित धारणा नबनाइएको बताउनुभयो ।

खनालले प्रधानमन्त्री देउवा अमेरिकाको पासोमा परेको आरोप लगाउँदै उहाँले सत्ता गठबन्धनले चुनावपछि गहन छलफल गरेर निचोडमा पुग्ने प्रस्ताव राख्दासमेत प्रधानमन्त्री देउवाले अस्वीकार गर्नुभएको जानकारी दिँदै एमसीसी पास गराउन प्रधानमन्त्रीले एमालेसँग साँठगाँठ गर्नुको विकल्प नरहेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री खनालले आँट, बुद्धि र दृष्टिकोण भए देश, जनता, संसद र गठबन्धनको आड लिएर एमसीसीसँग बार्गेनिङ गरेर संशोधन गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिनुभयो ।

खनालले देशहितविपरीत भइ एमसीसी पास गर्ने अडानमा कांग्रेस हो भने एमालेसँग समीकरण गरेर जान स्वतन्त्र रहेको बताउनुभयो ।