१३ बैशाख २०८१, बिहीबार

यति धेरै विश्वस्त कांग्रेस किन एमसीसी पारित हुनेमा ?

nepali congress party office

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसीसम्बन्धि प्रस्ताव संसदबाट पारित हुने दाबी गरेको छ । लामो रस्साकस्सीकाबीच संसदमा एमसीसी प्रस्ताव टेबल भएकै दिनबाट कांग्रेसले पारित हुने विश्वास लिएको छ ।

सत्ताघटक दलकै विरोधकाबीच प्रतिनिधि सभामा आइतबार सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी प्रस्ताव टेबल गर्नुभयो ।

संसदमा लगातार विरोधमा उत्रिएको प्रमुख प्रतिपक्षी दल एमालेको अवरोध जारी रहँदा सत्तारूढ माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एमसीसीको विरोधमा देखिए। संसदीय व्यवस्थामा सरकारले ल्याएको प्रस्तावमा सत्तारुढ दलले नै संसदमा नाराबाजी गरेको दृश्य दुर्लभनै मानिन्छ । तर, सरकारमा बस्ने र संसदमा सरकारकै प्रस्तावको विरोधमा पनि उत्रने द्वैध चरित्र नेपालमा भने सहजै देख्न सकिन्छ ।

संसदबाट एमसीसी पारित हुनेमा कांग्रेस भने विश्वस्त देखिन्छ । एमसीसी राष्ट्रहितमा रहेकाले पारित नहुने अवस्थै आउन नदिने कांग्रेसको दाबी छ ।

उसो त विरोधमा उत्रिएका सत्ताघटक पनि गठबन्धन तोडिहाल्ने मनस्थितिमा देखिँदैनन् भने कांग्रेस पनि एमसीसी पारित गर्ने र गठनबन्धन पनि जोगाउनै प्रयासरत छ । एमसीसीको विपक्षमा रहेका सत्ताघटक सहमति आउने सम्भावना नरहँदा कांग्रेस भने त्यस्तो मान्न तयार छैन । एमसीसी भर्खर संसद प्रवेश गरेकाले अहिले नै नकारात्मक सोच्न नहुनेमा कांग्रेस देखिन्छ । गठबन्धनमा सहमति जुट्नेमा कांग्रेस ढुक्क छ ।

सत्ताघटकभित्रै मतभेदका बीच संसदमा एमसीसी टेबल हुनु, कांग्रेसले एमसीसी पारित हुने दावा गर्नु र सत्तागठबन्धन तोडिँदैन भन्ने मत माओवादी र एकीकृत समाजवादीमा देखिनुलाई अर्थपूर्ण हेरिएको छ ।

कांग्रेससले एमसीसीको विरोध गरिरहेका सत्ताघटकको ‘फेस सेभ’ गरिदिने र उनीहरुले पनि एमसीसी पारित गर्न भित्री सहयोग गरिदिने भद्र सहमतिपछि संसदमा एमसीसी प्रस्ताव टेबल गरिएको कांग्रेस नेताहरूको दाबी छ तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने निर्णय नै गरिसकेका छन् ।

फागुन १६ भित्रै पारित गरिसक्नुपर्ने भएकाले त्यसअघि नै एमसीसी पारित गर्ने अवस्था सत्ताघटकभित्रैबाट बनाउने र त्यसो नभए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई मनाउने प्रयासमा कांग्रेस एक साथ अघि बढेको छ । एमसीसी पारित गर्दै सत्तागठबन्धन जोगिन्छ वा एमाले र कांग्रेसबीच नयाँ गठजोड बन्छ ? चासोका साथ हेरिएको छ ।