४ बैशाख २०८१, मंगलवार

अख्तियारमा ओलीसहित एमालेका पाँच नेताविरुद्ध उजुरी

ciaa

नेकपा (एमाले)का पाँच नेताविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगै नेताहरु पद्मा अर्याल, भानुभक्त ढकाल र योगेश भट्टराईविरुद्ध उजुरी दर्ता भएको हो।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार बिहीबार उजुरी दर्ता भएको हो। ‘उजुरी दर्ता भएको छ’, प्रवक्ता भण्डारीले भन्नुभयो, ‘दर्ता हुन आइसकेपछि त्यसलाई प्रक्रियामा राखिएको छ।’

नेकपा (एकीकृत समाजवादी) पार्टीका विद्यार्थीले अख्तियारमा उजुरी दिएका हुन्। उजुरी पत्रमा एमाले अध्यक्ष ओली नेतृत्वमा बनेको सरकारको क्याबिनेटमा रहेका चार मन्त्रीको नाम समेटिएको छ।

उजुरीपत्रमा झापाको गिरीबन्धु टी स्टेटको नामको जग्गा हिनामिना, कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता र भ्रमण वर्षको प्रचारप्रसारका अनियमितता भएको दाबी गरिएको छ।

‘झापा जिल्लास्थित गिरीबन्धु टी स्टेटको नाममा बिर्तामोड र अर्जुनधारमा गरी ३०० बिघाभन्दा बढी जग्गा रहेको र उक्त गिरीबन्धु टी स्टेट सञ्चालन गर्न नसक्दा हदबन्दी भन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीत्वमा रहेको सरकारले अर्बो सम्पत्ति लिने खाने नियले गिरीबन्धु टी– स्टेटको अर्बौ मूल्य पर्ने जग्गा सटटपट्टा गर्न पाउने गरी ऐन संशोधन गरी नीतिगत भ्रष्टाचार भए गरेको हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललगायत भ्रष्टाचारमा संलग्न व्यक्तिलाई भ्रष्टाचारमा कारबाही गरिपाऊँ’, उजुरीमा भनिएको छ।

अनेरास्ववियु बागमती प्रदेश कमिटी संयोजक दीपक बुढाथोकीले हस्ताक्षर गरेको उजुरीमा कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै पोखरेल र ढकालमाथि कारबाहीको माग गरिएको छ।

स्वास्थ्य सामग्री खरिदको समयमा पोखरेल कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को संयोजक र ढकाल स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो।

त्यसैगरी भिजिट नेपाल–२०२० को प्रचारप्रसार हुँदै गर्दा योगेश भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्थ्यो।