६ चैत्र २०८०, मंगलवार

हमाल नियुक्त धितोपत्र बोर्डको अध्यक्षमा, साना लगानीकर्ताको हितमा लाग्ने प्रतिबद्धता

hamal

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले हमाललाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गरेको हो ।

रासससँग कुुरा गर्दै हमालले नियुक्तिको बारेमा अनौपचारिकरूपमा जानकारी आएको र शुक्रबारसम्म नियुक्तिपत्रसमेत पाउने बताउनुभयो ।

उहाँले नेपालको शेयर बजारको विकास र विस्तारमा आफूले इमान्दार प्रयास गर्ने बताउनुभयो । साना लगानीकर्ताको हित र बजारको विविधीकरण गर्न आफूले सक्दो प्रयास गर्ने उहाँले उल्लेख गर्नुभयो ।

नेपालको शेयर बजारलाई बलियो र सक्षम बनाउँदै अन्तर्राष्ट्रियस्तरको बनाउने आफ्नो सपना रहेको भन्दै उहाँले त्यसका लागि सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

सामान्य झट्काले समेत प्रभाव पार्ने शेयर बजारलाई व्यवस्थित एवं मर्यादित बनाउने र प्राकृतिकरूपमा चल्ने बनाउन प्रयास गर्ने नवनियुक्त अध्यक्ष हमालले बताउनुभयो । बजारको विविधीकरण नहुँदासम्म शेयर बजारले स्थायित्व पाउन नसक्ने भएकाले सो कार्यमा आफू दत्तचित्त भएर लाग्ने उहाँको भनाइ छ ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना एक सिमेन्ट कम्पनीको शेयर प्रकरणमा मुछिनु भएपछि सरकारले उहाँलाई हटाएको थियो । पछिल्लो छ महिनादेखि बोर्डको अध्यक्ष खाली थियो । अध्यक्ष नियुक्त नहुँदा शेयर बजारसम्बन्धी विभिन्न विषयगत र नीतिगत काममा अवरोध भइरहेको थियो ।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलको संयोजकत्वमा बोर्ड अध्यक्ष छनौट समिति गठन गरेको थियो । समितिले तीन जनाको नाम प्रस्ताव गरेको थिया । त्यसमा डा गोपाल भट्ट, कृष्ण पोखरेल र हमालको नाम सिफारिस गरेको थियो ।

डोटीको सिलगढीमा जन्मनुभएका हमालले एशियन इस्टिच्यूट अफ टेक्नोलोजी बैंककबाट एमबिए गर्नुभएको छ । झण्डै २९ वर्षदेखि सार्वजनिक तथा निजी क्षेत्रमा सेवा गर्नुभएका हमालले २० वर्ष त व्यवस्थापन क्षेत्रमा नै काम गर्नुभएको छ ।

सन् २००७ देखि सन् २०१० सम्म गैरआवासीय नेपाली सङ्घ थाइल्याण्डको अध्यक्ष बन्नुभएका हमाल थाई–नेपाल चेम्बर अफ कमर्स बैंककको उपाध्यक्षसमेत बन्नुभएको थियो ।

काभ्रेपलान्चोकको धुलिखेलमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको चेन होटल ‘दुषित थानी’को निर्माण गरिरहनुभएको छ । सो होटलको ९० प्रतिशत निर्माण सम्पन्न भएको र आगामी चार महिनाभित्र सञ्चालनमा आउनेछ ।

आफूले जानेको तथा सिकेको ज्ञान ताथ अनुभव नेपालमा नै प्रयोग गरौँ भन्ने उद्देश्यका साथ आफू नेपाल फर्किएको उहाँले रासससँगको कुराकानीमा बताउनुभयो । उहाँले सरकारले दिएको जिम्मेवारीलाई पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।