६ बैशाख २०८१, बिहीबार

नेपाली सेनाले शुक्रबारबाट मेलम्ची मुहानको ढुङ्गा फुटाउन सुरु गर्ने

melamchi unner

मेलम्ची नदीको मुहानमा बाढीले ल्याएका ठूला ढुङ्गालाई विष्फोट गराउन नेपाली सेनाले शुक्रबारदेखि शुरु गर्ने भएको छ । स्काभेटर ब्रेकरले उक्त ढुङ्गाहरु फुटाउन नसकिएपछि मेलम्ची खानेपानी आयोजनाले सेनासँग सहयोग मागेको थियो ।

मुहान क्षेत्रमा रोडा निकाल्ने काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले अस्थायी रुपमा चैत भित्रमा काठमाडौं उपत्यकामा खानेपानी ल्याउने गरी काम गर्ने जिम्मा पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिइसकेको छ । विष्फोटक पदार्थसहित सेना मुहान क्षेत्रमा पुगिसेको छ ।

भोलिदेखि विष्फोटन गरी काम सुरु गर्ने मेलम्ची खानेपानी विकास समिति प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । हाल मेलम्ची खोलाको मुहानमा १२ वटा डोजर र २२ वटा ट्रिपरले काम धमाधम भइरहेको पन्तले जानकारी दिनुभयो । आयोजनाले फागुन दोस्रो सातासम्म मुहान सफाइको काम सम्पन्न भइसक्ने जनाएको छ ।

मुहान सफाइमा माथिल्लो तहमा गिटीवालुवा मात्र भेटिए पनि तल्लो तहमा ठूल्ठूला ढुङ्गा भेटिएपछि विष्फोटननै गर्नुपर्ने भएको हो । गत असार एक गतेको बाढीपहिरोले क्षति पु-याएपछि मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकाबासीको सपना पर धकेलिएको छ । आउने चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने लक्ष्य समितिको छ ।

बाढीपहिरोले मेलम्ची खोलामा खनिएको सुरुङ क्षेत्रको ड्याम आसपास क्षति हुँदा एक अर्व ८८ करोड रुपैयाँको नोक्सान भएको समितिले जनाएको छ । हालसम्म करिव ३५ अर्व लगानी भइसकेको यो आयोजनाले २०७७ चैत १५ गते मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीको धारामा परीक्षण स्वरुप वितरण गरेको थियो ।