१६ चैत्र २०८०, शुक्रबार

नयाँ शैक्षिक सत्र वैशाखमै सुरु गर्न असम्भव, जेठबाट शुरु गर्न सुझाव

students
फाइल फोटो

सरकारले नयाँ शैक्षिक सत्र वैशाखमै सुरु गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन्। उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा सुरु गर्नुपर्नेमा जोड दिएका छन्।

अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले करिब १ सय २० दिन मात्रै पढाइ गरेर परीक्षा लिँदा पढाइमा गुणस्तर आउन नसक्ने भन्दै चैत महिनाभरि पढाएर वैशाखमा परीक्षा लिने र जेठमा मात्र नयाँ शैक्षिक सत्र सुरु गर्नु उपयुक्त हुने बताउनुभयो।

फागुनदेखि शैक्षिक सत्र सुरु भएका कर्णालीमा अहिलेसम्म दोस्रो त्रैमासिक परीक्षा समेत हुन नसकेको जानकारी गराउदै उहाँले यस्तोमा वैशाखमै नयाँ शैक्षिक सत्र असम्भव हुने जिकिर गर्नुभयो ।

गत वर्षको शैक्षिक सत्र असारमा सुरु भएको जिकिर गर्दै उहाँले २०८० सालदेखि मात्रै वैशाखमै सुरु गर्नु उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार १ सय ८० दिन अनिवार्य रूपमा पढाउनुपर्ने व्यवस्था उल्लङ्घन गर्दै भौतिक रूपमा करिब ९० दिन मात्रै पढाइ भएको अवस्थामा परीक्षा लिनु कानुनी अपराध ठहरिन्छ।

उहाँले विद्यालय खुलिसकेको अवस्थामा चैतसम्म पढाइ गर्ने र वैशाखमा परीक्षा दिएर भर्नाको तयारी गरी जेठबाट शैक्षिक सत्र सुरु गर्नु उपयुक्त हुने बताउनुभयो ।