१३ बैशाख २०८१, बिहीबार

दोस्रो विवाह बन्धनमा बाँधिइन् रेखा थापा

rekha shahi

अभिनेत्री रेखा थापा दोस्रो विवाह गरेकी छन् ।

रेखाले जाजरकोट निवासी बलराम शाही ठकुरीसँग विवाह गरेकी हुन् । केही दिनअघि रेखाले बलराम शाही ठकुरीसँग काठमाडौं जिल्ला अदालत पुगेर ‘कोर्ट म्यारिज’ गरेकी हुन् । एक वर्षदेखि चिनजानका दुवैले वैवाहिक सम्बन्धमा परिणत गरेका छन् ।

रेखाले केही समय पहिलेदेखि विवाहको मुडमा रहेको संकेत गर्ने गरेकी थिइन् । प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् । उनले आफूले विवाह गर्न लागेकोबारे भने सार्वजिनक रूपमा जानकारी दिएकी थिइनन् ।

उनको पारिवारित स्रोतले गत माघ पहिलो हप्ता रेखाले विवाह गर्न लागेको बताएको थियो । रेखाले कोसँग विवाह गर्न लागेको भन्‍ने गोप्य राख्दै आएकी थिइन् । दुई हप्ताअघि कोर्ट म्यारिज गरेको पुष्टि गर्दै यो आफ्नो नितान्त व्यक्तिगत कुरा भएकाले सार्वजनिक गर्न नचाहेको रेखाले बताइन् ।

रेखाले भनिन् , ‘यो मेरो व्यक्तिगत कुरा थियो । यो मोडमा आएर मन मिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा हामीले विवाह गर्ने निर्णय गरेका हौँ । यसलाई जीवन प्रक्रियाको रुपमा लिन आग्रह गर्दछु’।

यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो ।