१३ बैशाख २०८१, बिहीबार

तीन कारण औँल्याए कमल थापाले प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्नु

kamal
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको विपक्षमा उभिएका छन् । सत्ता गठबन्धनका सांसद्ले जबराविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ता गरेपछि थापाले प्रपञ्चमा महाभियोग ल्याइएको दाबी गरे ।

सोमबार बिहान सामाजिक सञ्जालमा टिप्पणी लेख्दै थापाले महाभियोग प्रपञ्च हुनुका तीन कारण औँल्याएका छन् ।

उनले पहिलो कारण त एमसीसीमा सत्तासिन नेपाली कांग्रेसको स्वार्थ रहेको बताएका छन् । एमसीसी पारित गर्न सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले अस्वीकार थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीमा माओवादी र समाजवादीको मौन समर्थन रहने सर्तमा महाभियोग प्रस्तावमा राजी भएका हुन् । अर्थात् एमसीसी संसदमा टेबल गर्न माओवादी र एकीकृत समाजवादी राजी भएको तर मतदानमा भाग लिने छैन, मतदानका बखत ती दलका सांसद अनुपस्थित हुनेछन् ।

त्यस्तै, थापाले दोस्रो कारणमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध विचाराधीन मुद्दा रहेको बताएका छन् । द्वन्द्वकालमा २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोपमा सापकोटालगायत केहीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यो मुद्दालाई थापाले माओवादी स्वार्थ भनेका छन् ।

त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका १४ सांसदमाथि कारबाही गरेको बताएका थिए । तर, यो विषयमा सभामुखले निकास नदिएपछि सर्वोच्चमा मुद्दा परेको छ । यो विषयमा एकीकृत समाजवादीको स्वार्थ रहेको उनले बताएका छन् ।

थापाले लेखेका छन्,“प्रधानन्यायाधीशलाई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले एमसीसी पास गर्ने (कांग्रेस स्वार्थ),हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस)को सासंद पद जोगाउने प्रपञ्चमा प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीतिभित्र रहेको विकृतिको नमुना हो ।”