१२ बैशाख २०८१, बुधबार

अझै पुरिएको छैन १० वर्षे द्वन्द्वको घाउ

Girija prachanda
फाइल फोटो

माओवादीले सशस्त्र द्वन्द्व शुरु गरेको २७ वर्ष पूरा भयो । समाजमा रहेको कुरिती, भेदभाव तथा राज्यको दमनविरुद्ध गाउँगाउँबाट उठेका आवाज यतिबेला सत्तामा पुगिसके। वर्ष बित्दै जाँदा सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट पीडा पाउनेहरुलाई तीतो अनुभवले सताउन छोडेको छैन।

सुमन अधिकारी । सशस्त्र द्वन्द्वमा आफ्ना बाबु गुमाउने एक छोरा । २०५८ साल माघ ३ गते उहाँका बाबुलाई विद्रोही पक्षले अपहरण गरेर हत्या गर्‍यो ।

यो तस्वीर तत्कालिन समयमा विद्रोही पक्षबाट हत्या गरिएका मुक्तिनाथ अधिकारीको हो । आज पनि यो तस्वीर हेर्न कठिन लाग्छ सुमनलाई । घाउ त पुरानो भयो तर खत बसिरह्यो ।

जबजब फागुन १ पात्रो सजाउँछ । तबतब सुमनजस्ता पीडितलाई गिज्याउछ । उता परिवार, समाज त्यागेर सशस्त्र द्वन्द्वमा होमिएका नागरिक हरेक वर्ष जनयुद्ध दिवस मनाउन पार्टी प्यालेस पुग्छन् अनि सम्झन्छन् काहाली लाग्ला युद्धका दिन, अनि आफैँलाई प्रश्न गर्छन् हाम्रो त्यागको बदला के मिल्यो ?

माओवादी शान्ति प्रक्रियामा आएपछि उसको नेतृत्वमा सरकार पनि बने, सत्यनिरुपण तथा मेलमिलाप आयोगले पनि नेतृत्वको कुर्सीमा कतिलाई बसाल्यो । तर सशस्त्र द्वन्द्वका बेलाका पीडित, सशस्त्र द्वन्द्वका घाइते, बेपत्ता पारिएका नागरिक र न्यायका लागि छटपटाइरहेका गंगामाया अधिकारीजस्ता कति २७ वर्ष अघि लागेको चोट छोपेर हिन्न बाध्य छन् ।