१६ चैत्र २०८०, शुक्रबार

बुटवल जाँदै गरेको यात्रुवाहक बसमा आगलागी

busfire

नेपालगन्जबाट बुटवलतर्फ जाँदै गरेको यात्रुवाहक बसमा आगलागी भएको छ । 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ बुड्डीमा बसमा आगलागी हुँदा जलेर पूर्ण रूपमा क्षति पुगेको छ । भे१ख २९५६ नम्बरको बसमा आइतबार साँझ अन्दाजी ७ बजे आगो लागेको थियो । बसको विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । 

आगो सल्किएको थाहा भएपछि यात्रुहरू सामान निकालेर बाहिर निस्किएका थिए । बसको डिक्कीमा रहेको सामान भने निकाल्न नसकेको एक यात्रुले बताए । 

बसमा १४ यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लीलामणि आचार्यले बताउनुभयो । बसको लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो ।

आगो निभाउन शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकल, नेपाल प्रहरी खटिएका थिए ।