१३ बैशाख २०८१, बिहीबार

न्यायालयमा देखिएको समस्याको निकास नदिएपछि महाअभियोग दर्ता गर्‍यौं : प्रचण्ड

prachanda IRyjsLNp44
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको समस्याको निकास नदिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाएको बताएका छन् ।

आइतबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले न्याय क्षेत्रमा देखिएका अन्योल, अराजकता र बेथितीको निकास प्रधानन्यायाधीशले दिनुपर्ने भए पनि उनले निकास नदिएपछि महाअभियोग लगाएको बताए ।

‘न्यायालयको बेथितीका लागि मुख्य जिम्मेवार प्रधानन्यायाधीश नै हुनुपर्छ । प्रधानन्यायाधीशले नै निकास दिनुपर्छ, विदा बसेर हुन्छ या सबैलाई विश्वासमा लिएर हुन्छ वा कुनै तरिकाले भन्दा पनि कहिँ कतै त्यस्तो स्थिति देखा परेन’ उनले भने, ‘झन् पछि झन् न्याय क्षेत्र विवादित हुने, अराजक हुने, झन् अन्योलग्रस्त हुने देखिएपछि एउटा वैधानिक, संवैधानिक र लोकतानित्रक बाटोबाट समस्याको निकास गर्ने भनेको महाअभियोग नै हुन्छ ।’

त्यस्तै प्रचण्डले सत्तारुढ गठबन्धनको सहमतिबाटै महाअभियोग प्रस्ताव दर्ता गरेको बताए । ‘न्यायालयको क्षेत्रमा केही समयदेखि निकै धेरै अन्योल, अराजकता र बेथिती देखा पर्‍यो, र यो अन्योल अराजकता र बेतिथी स्वतन्त्र न्यायलयको क्षेत्रमा देखा पर्नु राज्यका लागि र जनताका लागि दुखद कुरा थियो नै । बारको तर्फबाट अधिवक्ताहरु र स्वयं न्यायाधीश नै आन्दोलित हुने विचित्र स्थिति नेपालमा देखापर्‍यो ।’

‘यसको सहज ढंगले निकास होस् भन्ने हाम्रो चाहना थियो । सहज ढंगले संवादको माध्यमबाट सबैले निकासको प्रयास गरुन् भनेर हामीले गठबन्धनको तर्फबाट पहल कदमी गर्‍यौं । गठबन्धनको बैठकबाट यसको सहज निकास दिन सम्बन्धित सबैलाई अपिल पनि गर्‍यौं’, उनले भने ।