२१ बैशाख २०८१, शुक्रबार

दैनिक प्रेस ब्रिफिङ आजदेखि गर्ने निर्वाचन आयोगको तयारी

Election Commission Nepal

निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन गतिविधिबारे प्रत्येक दिन प्रेस ब्रिफिङ गर्ने भएको छ । आयोगले आमसञ्चार माध्यमलाई जानकारी गराउने उदेश्यले प्रेस ब्रिफिङ गर्ने जनाएको हो ।

कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट आज फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुने आयोगले जनाएको छ ।

निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्बन्धित अन्य विषयमा आमसञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले “प्रेस मिट” गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले बताए ।

स्थानीय तहको निर्वाचन यसअघि नै आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ । दैनिक रूपमा सञ्चारमाध्यममार्फत् सम्पूर्ण नेपालीलाई निर्वाचन गतिविधि अद्यावधिक गरी निर्वाचन वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता सञ्चारकर्मी भेटघाट राखिएको उनको भनाई छ ।

दैनिक प्रेस ब्रिफिङबाट समयको सही उपयोगका साथै सूचना प्राप्त गर्ने विषयमा हुन सक्ने अलमल अन्त्य हुने आयोगको विश्वास छ । निर्वाचनसँग सम्बन्धित सबै समाचार र सूचना तोकिएको समयमा एकै स्थानबाट सहज रूपमा उपलब्ध हुने जनाउँदै आयोगले दैनिक रूपमा हुने प्रेस मिटमा उपस्थितिका लागि सबै सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह समेत गरेको छ ।