१३ बैशाख २०८१, बिहीबार

विदेशमा रहेका नेपालीलाई तत्काल फर्काउन नसकिने : परराष्ट्र मन्त्रालय

foreign ministry nepal

सरकारले विदेशमा रहेका नेपालीलाई नेपालमा फर्काएर क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको स्पष्ट पारेको छ ।

कोरोना भाइसरको संक्रमण बढ्दै जाँदा विभिन्न देशमा लकडाउन गरेपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किन चाहिरहेको खबर बाहिर आएका सम्बन्धमा सरकारले यस्तो धारणा प्रकट गरेको हो ।

सरकारले विदेशमा रहेका नेपालीलाई आफू रहेकै स्थानमा सुरक्षित रहन भनेको छ । परराष्ट्र मन्त्रालयले विदेशका कूटनीतिक नियोगमार्फत नेपालीलाई आफू बसेको ठाउँमै सुरक्षित रहन आग्रह गरेको जनाएको छ ।

‘कूटनीतिक नियोगमार्फत नेपालीहरूको अवस्थाबारे दैनिक विवरण लिने काम भइरहेको छ । नेपालीहरूलाई दूतावासको नजिक रहन भनिरहेका छौं।’ –मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भन्नुभयो ।

कोरोनाको संक्रमणबाट बच्न आफू बसेको देशको नीति, नियम पालना गरी सुरक्षित उपाय अपनाउन कूटनीतिक नियोगले बारम्बार आग्रह गरिरहेको पनि उहाँले बताउनुभयो । कोरोना भाइरस विश्वव्यापी महामारी रहेकाले ठूलो संख्यामा विदेशमा रहेका नेपालीहरूलाई तत्काल नेपाल फर्काएर क्वारेन्टाइनमा राख्न नसकिने पनि मन्त्रालयले जनाएको छ ।

कतिपय नेपालीहरू फर्किन चाहेको भए पनि कोरोना भाइरसको संक्रमण विश्वव्यापी रहेककाले नेपाल फर्किनु मात्र समस्याको समाधान नभएको भन्दै कूटनीतिक नियोगले नेपालीहरूलाई निरन्तर सहजीकरण गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नाउँमा गर्नुभएको सम्बोधनमा पनि संकटको वर्तमान घडीमा जो जहाँ छौं, त्यहीं सुरक्षित रहन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरूसँग मैले टेलिफोन संवाद शुरू गरेको छु । विश्वव्यापी महामारीविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य र समन्वयको खाँचो छ । विश्वव्यापी संकटको घडीमा आफ्नो सरहदभित्र रहेका स्वदेशी र विदेशी नागरिक सबैलाई सुरक्षा र संरक्षण गर्ने दायित्व सबै सरकारको हो ।’

नेपालले सीमित साधनस्रोतका बाबजुद नेपालमा रहेका विदेशी नागरिकहरूको सक्दो हेरचाह गरिरहेको बताउँदै उहाँले भन्नुभयो– ‘असहज घडीमा विदेशमा रहेका नेपाली समुदायले पनि सम्बन्धित सरकारहरूबाट माया र संरक्षण पाउनेछन् भन्ने हाम्रो विश्वास रहेको छ ।’

यसैबीच विभिन्न देशले आफ्ना २ हजार नागरिकहरूलाई नेपालबाट उद्धार गरेर लगिसकेका छन्। वैदेशिक रोजगार विभागका अनुसार भारतबाहेकका मुलुकमा ४१ लाख नेपालीहरू वैधानिकरूपमा काम गरिरहेको छ । नेपालबाट मुख्यतः साउदी, कतार, मलेसिया, यूएई, बहराइन, कुवेत, ओमान, कोरिया, जापान, साइप्रसलगायतका मुलुकमा कामका लागि जानेको संख्या धेरै छ ।

विभिन्न भिसामा युरोप पुगेर कामदारकै रूपमा कार्यरत नेपालीहरू पनि प्रशस्तै छन् । त्यसै गरी विभिन्न व्यावसायिक पेसामा कामका लागि युरोप र अमेरिकामा पुग्ने नेपाली पनि ठूलो संख्यामा रहेका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनएले करिब ८० लाख नेपाली विश्वभर रहेको दाबी गर्दै आएको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)