१५ बैशाख २०८१, शनिबार

यात्रु नबोकी भोलिदेखि नेपालमा रेल चल्ने

Nepal Railway

जयनगर–कुर्था रेलमार्गमा भोलिदेखि रेल सञ्चालन गरिने भएको छ । उद्घाटन नभएसम्मको लागि यात्रु विनाको रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।

जनकपुरदेखि जयनगरसम्म रेल चलाउन लागिएको हो। औपचारिक रूपमा रेल उद्घाटन गरेपछि मात्रै यात्रु बोक्न थालिनेछ।

भोलिदेखि रेलको लिकमा हाटबजार लगाउन तथा आवतजावतमा रोक लगाइएको छ । रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ । जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ ।

अहिले सर्वसाधारणलाई सचेतनाका लागि रेल चलाउन लागिएको छ। दिनमा एक पटक रेल चलाउने तयारी छ।

यात्रु नबोकी फागुन १ देखि दिनमा एकपटक रेल चलाउन लागिएको रेल्वे कम्पनीका महाप्रबन्धक झाले जानकारी दिए। उनकाअनुसार जयनगरदेखि जनकपुर उपमहानगरस्थित कुर्थासम्म रेल सञ्चालन गर्न लागिएको छ।

अहिले प्रत्येक स्टेशनमा इन्टरनेट, टेलिफोन, संचार सुविधा लगायतका व्यवस्थापन भइरहेको पनि उनले बताए। ‘ट्रयाक क्लियर हुन सकेको छैन। ठाउँ–ठाउँमा हाट बजार लागिरहेको छ, टहरा बनाइएको छ।

हामी ट्रली चढेर जाँदा पनि मान्छे लिकमै हिँडिरहेका देखिए। रेलको प्राविधिक अवस्था कस्तो छ भन्ने बुझ्न पनि अहिले यात्रु नराखी रेल चलाउन खोजेका हौं,’ उनले भने।

रेल सेवाको औपचारिक उदघाटनको मिति तय भएको छैन।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेल उद्घाटन गर्ने तयारी छ। फागुन ११ गतेभित्र भर्चुअल रूपमा कार्यक्रम गरी रेल उद्घाटन गर्ने तयारी छ।

जयनगरदेखि कुर्थासम्म रेल संचालनका लागि ८४ जना कर्मचारीलाई जनकपुरमा तालीम दिइँदैछ । ५८ जना नेपाली र २६ जना भारतीय कर्मचारीलाई तालीम दिइरहेको महाप्रबन्धक झाले बताए।

पाइलट, को-पाइलट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र गेट प्वाइन्ट लगायतका पदमा कर्मचारी नियुक्त गरिसकिएका छन्।

प्रत्येक स्टेसनमा एक/एक टिकट काट्ने कर्मचारी, २२ गेट प्वाइन्ट, तीन स्टेसन मास्टर र सिग्नलका लागि कर्मचारी राखिएको छ।

भारतीय कम्पनी कोंकणसँग नेपाल सरकारले ८६ करोड रुपैयाँमा दुई सेट डेमो रेल खरिद गरेको थियो। ती रेल करिब डेढ वर्षदेखि धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा रेल्वे स्टेसनमा राखिएका छन्।

भारत सरकारले झन्डै ९ अर्ब रुपैयाँ खर्चेर जयनगर–बर्दिवास खण्डमा ७२ किलोमिटर ब्रोडगेज रेल्वे लिंक तयार पार्दैछ। ३ चरणमा निर्माण कार्य भइरहेको छ।

पहिलो चरणमा जयनगर–कुर्था ३६ किमी, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म १८ किमी र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किमी लिक तथा विभिन्न स्टेशन निर्माण हुँदैछ।

तीमध्ये जयनगर–कुर्थासम्म ३६ किमी ब्रोडगेज तीन वर्षअघि नै तयार भइसकेको छ। बाँकी खण्डमा पनि लिक निर्माण तीव्र गतिमा भइरहेको छ।