६ बैशाख २०८१, बिहीबार

पूर्णता दिन दुई मन्त्री थप्ने तयारी

Sher Bahadur Deuba 5
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई मन्त्री थप्ने तयारी गरेका छन् ।

देउवानिकट स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले रक्षा र उद्योग वाणिज्य तथा आफूर्ति मन्त्री थप गर्न लागेका हुन् । हाल ती मन्त्रालयको कार्यभार देउवा आफैँले सम्हाल्दै आएका छन् ।

रक्षामा कांग्रेसका डा.मिनेन्द्र रिजाल र उद्योगमा गजेन्द्र हमाल मन्त्री बनाइएका थिए । रिजालले कांग्रेस महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि राजीनामा दिएका थिए । हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना भएपछि राजीनामा दिएका थिए ।

देउवाले दुवै मन्त्रालयमा कांग्रेसबाट मन्त्री बनाउने तयारी गरिसकेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भने उद्योग मन्त्रालयमा आफ्नो पार्टीका लागि दाबी गरेको बुझिएको छ ।

गएको असार २९ गते देउवा नेतृत्वको गठबन्धन सरकार गठन भएको थियो । त्यसपछि उनले तीनपटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । हाल मन्त्रिपरिषद् २३ सदस्यीय छ । दुई मन्त्री थपिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने छ ।