१४ बैशाख २०८१, शुक्रबार

देश त गम्भीर खेलबाड, खेलाँची, गैरजिम्मेवारपनको शिकार भइराखेको छ: अध्यक्ष ओली

60f964c6c092c kp sharma oli 1

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गर्नु भएको छ ।

पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई आज भर्चुअल्ली शुभारम्भ गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र संघीय तीनवटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताउनु भएको हो ।

उहाँले सत्तारुढ गठबन्धनलाई बत्ती निभाएर वा मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि चेतावनी दिनुभयो । आफ्नो पार्टीले निर्वाचनबाट कसैलाई पनि भाग्न नदिने अध्यक्ष ओलीको भनाइ थियो । उहाँले देश, जनता, पार्टी र आन्दोलनविरुद्ध षडयन्त्र गरेर पार्टी विभाजन गर्नेहरुको भ्रममा नपरी पार्टीमा फर्किन पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आह्वान गर्नुभयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको पक्षमा असाधारण काम गरेको दावी समेत गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नगरी एक्लै चुनाव लडने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आउँदो निर्वाचनमा हामी बहुमत जित्छौं, के गर्छन् होला विचराहरु । म भनिदिन चाहन्छु–भाग्ने, उम्कने ठाउँ छ भने खोजे हुन्छ । संघीय र प्रदेशमा पनि हामीले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेछौं । यो गठबन्धन तोडेर होइन, गठबन्धन कायमै राखेर, गठबन्धनसँग लडेर हामी बहुमत प्राप्त गर्छांै भन्नेकुरा म अहिले नै भन्दिन चाहन्छु ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई पत्र लेखेर देशमाथि गम्भीर खेलबाड गरेको आरोप लगाउनुभयो । उहाँले सभामुख अग्नीप्रसाद सापकोटाले अनाधिकृत ढंगले संसदमा निर्णयार्थ पेश गरिएको एमसीसी सम्झौंता अघि बढन नदिएको भन्दै आपत्ति समेत जनाउनु भयो ।

सभामुख सापकोटाका यस्ता खालका पदीय मर्यादाविपरीतका गतिविधिलाई सत्तारुढ गठबन्धनका केही नेताहरुले प्रशंसा गरेकोमा आफूलाई शरम लागेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्ता गतिविधि हुन नदिन सरकारलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘अर्को कुरा अध्यक्षको हैसियतले लेखेको भनेर अनि कुन पार्टीको प्रमुख हुन् र एमसीसीको प्रमुख ? अर्को कुन–कुन पार्टीको अध्यक्षले लेख्नु पर्थ्यो ? गठबन्धनभित्र पनि दुईटा अध्यक्षले लेख्ने कुरा । अरु अध्यक्षहरुलाई थाहा छ कि छैन ? थाहा भए पनि नभए पनि उहाँहरुको बाध्यता छन, त्यो गठबन्धनमा लाग्नुपर्ने । तर देश त गम्भीर खेलबाड, खेलाँची, गैरजिम्मेवारपनको शिकार भइराखेको छ ।’

अध्यक्ष ओलीले चुच्चे नक्शा प्रयोग गर्ने काम सरकार र सत्तारुढ दलहरुले नगरेर देश र मुलुकको भौगोलिक अखण्डतामाथि खेलबाड गरिरहेको आरोप पनि लगाउनुभयो ।