१३ बैशाख २०८१, बिहीबार

दीपेन्द्र बने नायक, नेपालले ओमानलाई ६ विकेटले हरायो

nepal 1

चारदेशीय टि–२० सिरिज अन्तरगत पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले पराजित गरेको छ । अलअमरेट क्रिकेट रंगशालामा ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ३ बल बाँकी छदै १३७ रन बनाउँदै जित हात पार्‍यो ।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरी नायक बने । अन्तिम ६ बलमा जितका लागि ९ रन आवश्यक छदा दीपेन्द्रले मोहम्मद नदीमको पहिलो बलमा चौका, दोस्रो बलमा २ रन लिए भने तेस्रो बलमा चौका प्रहार गर्दै नेपालले जित दिलाए । दीपेन्द्र अविजित ७३ रन बनाए । ५३ बल खेलेको दीपेन्द्रले ८ चौका र एक छक्का प्रहार गरे । शरद भेषवाकर ४ रनमा अविजित रहे ।

यस्तै आरिफ शेखले २० बलमा २५ रन बनाए । उनले ३ चौका प्रहार गरे । ओपनर आशिफ शेख १४, ज्ञानेन्द्र मल्ल १३ र प्रदीप ऐरीले ४ रन बनाए । नेपालको सुरुवात भने राम्रो हुन सकेन ।

२१ रनको अवस्थामा आशिफ शेख पहिलो विकेटको रुपमा आृट हुन पुगे भने थप एक रन जोड्दा अर्का ओपनर प्रदीप ऐरी आउट भए । त्यसपछि नेपालको पारी ज्ञानेन्द्र र दीपेन्द्रले उकासेका थिए । यी दुईले ४० रनको साझेदारी गरे । नेपाल ६२ रनको अवस्थामा ज्ञानेन्द्र मल्ल रन आउट भएपछि दीपेन्द्रलाई आरिफले साथ दिएका थिए । दीपेन्द्र र आरिफले ४५ रनको साझेदारी गरे । यही साझेदारीले नेपाल जित नजिक पुगेको थियो ।

ओमानका लागि कलीमुल्लाहले ४ ओभरमा २४ रन खर्चिदै २ विकेट लिए भने खवार अलीले ४ ओभरमा ३१ रन खर्चिदै एक विकेट लिए ।
यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ओमान ६ विकेटको क्षतिमा १३५ रन जोड्न सफल भएको थियो । ओमानका लागि कप्तान जिसन माक्सुदले अविजित ४१ बलमा ४३ रन बनाए । उनले ४ चौका र एक छक्का प्रहार गरे ।

मोहम्मद नदिम ३० बलमा ३१ रन बनाउँदै आउट भए । ओमानका अन्य व्याटर भने चल्न सकेनन् । ओपनर कश्यप प्रजापति ११ र जतिन्द्र सिंह १३ रनमा आउट भए । सोयब खान र आयन खान समान ११ रनमा आउट भए । नसिम खुशी शून्यमै आउट भए भने खुरम नवाज ६ रनमा अविजित रहे । ओमानको सुरुवात पनि राम्रो हुन सकेन । २४ रनको अवस्थामा ओपनर प्रजापतिलाई गुमाएको ओमान थप रन जोड्न नपाउँदै अर्का ओपनर जिन्दरलाई गुमाएपछि ओमानको पारी धर्मराएको थियो ।

नेपालका लागि अविनाश बोहोराले ४ ओभरमा २६ रन खर्चिदै ३ विकेट लिए । उनले ओपनर कश्यपलाई बोल्ड आउट गरेका थिए भने मोहम्मद नदिम र नसिम खुशीलाई एकै ओभरमा आउट गरेका थिए ।

यस्तै कमल सिंह ऐरी ४ ओभरमा २५ रन खर्चिदै एक विकेट लिए भने आरिफ शेख एक ओभरमा मात्र २ रन खर्चिदै ओमानका भरपर्दा ओपनर जतिन्द्र सिंहलाई आउट पारे । कप्तान सन्दीप लामिछानेले ३ ओभरमा १७ रन खर्चिदै एक विकेट लिए । उनले सोयब खानलाई आशिफ शेखबाट क्याचआउट गराएका थिए । सागर ढकालले ३ ओभरमा ३६ रन खर्चिदै महंगो सावित भए भने दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा मात्र २१ रन खर्चिदा विकेट विहीन रहे ।

आजको खेलमा अर्धशतक बनाएका दीपेन्द्र म्यान अफ दि म्याच घोषित भए । जितसंगै चार देश सम्मिलित सिरिजमा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले अर्को खेलमा भोलि युएईसंग विहान ११ः४५ बजे भिड्ने छ ।