१५ चैत्र २०८०, बिहीबार

केही हानिकारक प्रावधान छन् एसमीसी सम्झौतामा, यथास्थितिमा अघि बढाउनु हुँदैन : उपमहासचिव पाैडेल

Dr Bijaya kumar poudel
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव डा. विजयकुमार पौडेलले एसमीसी सम्झौतामा केही हानिकारक प्रावधान राखिएकाले यथास्थितिमा अघि बढाउन नहुने बताउनुभएको छ ।

पार्टी निकट युवा संघ नेपालले बिहीवार काठमाडौंमा आयोजना गरेको ‘नो एमसीसी’ विशेष बहसमा उपमहासचिव डा पौडेलले एमसीसी यथास्थितिमा अघि बढाउन नहुने बताउनुभएको हो ।

उपमहासचिव पौडेलले एमसीसी सम्झौतामा एमसीसी प्रोजेक्ट रहेको जमिनको स्वामित्व, कानूनसँग बाझिने विषय, उदारवादी खुला अर्थतन्त्रको विकल्पमा जान नहुने कुरा र प्रसारण लाइनमा नेपालले भारतको सहमति लिनुपर्ने लगायतका प्रावधान रहेकाले त्यसलाई स्वीकार गर्न नसकिन प्रष्ट पार्नुभयो।

उपमहासचिव डा पौडेलले गरिब राष्ट्रलाई विकसित राष्ट्र अनुदान दिने कुरा कुनै दयाको विषय नभइ विकसित देशका उत्पादनलाई बिक्रीको वातारण बनाउने र विश्व अर्थतन्त्र चलायमान बनाउने विषय भएको बताउनुभयो ।

ऋण वा अनुदान के हो भन्ने स्पष्ट नभइसकेकाले एमसीसी सम्झौतासँग समाजवाद साट्न नसकिने भन्दै उहाँले विगतमा दलाली गरेर ऋण ल्याउनेहरुसँग सावधान रहन जरुरी रहेको बताउनुभयो ।

नेपालले असलंग्न पराराष्ट्र नीति अबलम्वन गरेकाले छिमेकीसँग समान दुरी र समान मित्रता कामय गर्न चाहेको भन्दै उपमहासचिव पौडेलले नेपाल कुनै पनि देशका विरुद्ध प्रयोग हुन नसक्ने प्रष्ट पार्नुभयो।

इण्डो प्यासेफिक रणनीति अन्तर्गत एमसीसी ल्याइएको उहाँको भनाइ छ ।

कार्यक्रममा अन्य वक्ताहरुले अमेरिकाले एमसीसी आर्थिक सहायतामार्फत साम्राज्यवाद विस्तारको टुनामुना गरिरहेकाले एमसीसी खारेज गर्नुपर्ने धारणा राखेका थिए । विदेशीले दिने आर्थिक सहायता कसको हितमा छ भन्ने कुरा जनताले बुझन आवश्यक रहेको नेताहरुको भनाइ थियो ।